वीर र पाटन अस्पतालमा मृत्यु भएका दुबैमा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं। काठमाडौंको वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका दुवै जनामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । आइसियुमा उपचारका क्रममा मृत्यु भएका उनको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनी आइतबार अस्पताल भर्ना भएका थिए । धादिङ घर भएका उनी भारतबाट फर्किएका थिए ।

उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिएका छन् । उनको मल्टिअर्गान फेल भएको र अस्पताल ढिला आएका कारण मृत्यु भएको डा. शर्माले बताएका छन् । उनले भने, ‘उहाँको मल्टिअर्गान फेल भएको रहेछ ।

अस्पताल पनि ढिला ल्याइयो । त्यसैले उहाँको मृत्यु भएको हो । तर हामीले कोरोनाको परीक्षण पनि गरेका थियौं । रिपोर्ट नेगेटिभ आएको छ ।’ अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका बाँकी तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । मंगलबार थप तीन जना कोरोनाको आशंकामा अस्पताल भर्ना भएको उनले जानकारी दिए ।

यता वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा पनि कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विद्यानिधि पौडेलले जानकारी दिएका छन् ।

चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।

 
 
  
 

You may also like