प्रदेश सरकारका निर्णयः तीन स्थानमा प्रयोगशाला, अलपत्र परेका र मजदुरहरुलाई उद्धार गरिने

बुटवल । प्रदेश ५ सरकारले प्रदेशका विभिन्न तीन स्थानमा कोरोना परिक्षणका लागि प्रयोगशाला बनाउने निर्णय गरेको छ । भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा प्रयोगशाला स्थापना नर्गे निर्णय गरिएको हो ।
सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने निर्णय गरेको हो ।

विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषदको बसेको बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने निर्णय गरेको छ । अलपत्र परेका नेपाली नागरिकहरुलाई सम्बन्धित स्थानिय सरकारले क्वारेन्टाइनमा राख्नुपर्ने र खानाको व्यवस्था गर्नुपर्ने निर्णय गरिएको छ ।

यस्तै मन्त्रिपरिषद्ले निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने र उनिहरुलाई लैजाने यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने गरि निर्णय गरिएको छ । यसका लािग सम्बन्धित निमार्ण कम्पनीले नै गाडीको जोहो गर्नुपर्ने छ ।

खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायतका कृषी साधनहरुलाई गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले पास मिलाउनुपर्ने निर्णय गरिएको छ । यस्तै जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने गरि निर्णय भएको छ ।
साथै बैठकले एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको जानकारी दिदैं प्रमुख जिल्ला अधिकारीको रोहवरमा एम्बुलेन्स चालकहरुलाई पीपीई वितरण गर्ने निर्णय भएको हो ।

 
 
  
 

You may also like