दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेलाई तिलोत्तमाद्धारा राहत घोषणा

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग समुदायलाई लक्षित गरी राहत घोषणा गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले लगडाउनबाट प्रभावित भइ दैनिक छाक टार्न समस्या भएका परिवारलाई राहत दिने निर्णय गरेको हो ।
पहिलो चरणमा यसरी साँझबिहानको छाक टार्न समस्या भएका प्रतिपरिवार दश किलो चामल र दुई किलो दाल उपलब्ध गराउने निर्णय तिलोत्तमाले गरेको हो । टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले राहत उपलब्ध गराउने प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
नगरपालिकाले दैनिक ज्यालामजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संस्था, कम्पनीलाई आफ्ना कामदारप्रतिको जवाफदेहिया निर्वाह गर्न समेत ध्यानकर्षण गराएको छ । सचिवालय बैठकले राहत वितरणलाई व्यवस्थित बनाउन उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । यसअघि हिजो नगरप्रमुखले नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका कारण कोही भोकै बस्नु नपर्ने भन्दै त्यसको जिम्मा स्थानीय सरकारले लिने उल्लेख गरेका थिए । उनको अभिव्यक्तिको सर्वत्र चर्चा भएको छ ।
नगरप्रमुखले गर्नुभएको अपिलको पूर्णपाठ ः
आदरणीय नगरबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु !
यतिबेला विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको व्यहोरा सबैलाई अवगत नै छ । नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने संक्रमणको आशंकामा कतिपयलाई आइसोलेसनमा राखिएको छ । यस्तै कतिपय क्वारेन्टाइनमा छन् । नेपालमा कोरोना संक्रमण फैलन नदिनका लागि लकडाउन गरिएको छ । लकडाउनको अर्थ मानिसबीचको दुरी कायम गर्नु हो । यसैले यो बेलामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन म सम्पूर्ण नगरबासी महानुभावलाई पुनः अपिल गर्दछु । यो समय हामीहरु बडो संयम हुनुपर्ने बेला हो । अरु बेलाको जस्तो बिदा वा बन्दको रुपमा लकडाउनलाई नलिनुहुन म सबैलाई आग्रह गर्दछु । कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय हामीहरु आआफ्नो घरमा बस्नु हो । यो चोक चोकमा जम्मा भएर गफ गर्ने, खेल्ने वा अन्य कार्य गर्ने बेला होइन । एउटा व्यक्तिले हेलचेक्राइँ गर्दा सयौं व्यक्तिको स्वास्थ्य जोखिममा पर्न सक्ने विषयप्रति सचेत रहन म सम्पूर्ण नगरबासीलाई आग्रह गर्दछु ।
आज हामी जनप्रतिनिधिहरुले लकडाउनको अनुगमन गर्दा अत्यावश्यक कामविना पनि सडकमा हिँडेको, चोकमा जुटेको पायौं । बिहान र साँझ चोकमा टहलिने, सडकमा हिँडेको पायौं । यस्तो कार्य तुरुन्त बन्द गर्न म आमनगरबासीलाई आग्रह गर्दछु । बिहान वा साँझ हिँड्दा, जमघट हुँदा पनि संक्रमणको जोखिम उत्तिकै रहन्छ । यसैले लकडाउनलाई बन्द विशेषमा जस्तो साँझबिहान चहलपहल बढाउने हिसाबले नबुझ्न म सबैलाई अनुरोध गर्दछु ।
आदरणीय नगरबासी महानुभाव !
यो विशेष अवस्था हो, त्यसैले तिलोत्तमा नगरपालिकाले नगरका चार वटा स्वास्थ्य चौकीमा ज्वरो, रुघाखोकीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । कसैलाई ज्वरो, रुघाखोकी लागेमा आनन्दवन, सेमराबजार, शंकरनगर र मधवलिया स्वास्थ्य चौकीमा गई स्वास्थ्य परीक्षण गर्नुहुन म अनुरोध गर्दछु । यस्तै कोराना संक्रमणलगायत स्वास्थ्य समस्या भएमा पैसा नलाग्ने तिलोत्तमा नगरपालिकाको टोल फ्री नंबरमा पनि सम्पर्क राख्नुहुन अनुरोध छ । तिलोत्तमा नगरपालिकाले कोरोना जोखिम पूर्वतयारीका लागि शंकरनगर स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन निर्माण गरेको छ । अतः आफ्नो टोलमा हालै विदेश वा भारतबाट आएका व्यक्तिको बारेमा नजिकका जनप्रतिनिधि, स्वास्थ्य चौकी वा टोलफ्री नम्बर १६६०७१५६६६ को टेलिफोनमा सम्पर्क राख्न म सबैमा अपिल गर्दछु ।
स्वास्थ्य चौकीमा चेकजाँच गर्न जाने बिरामीलाई आशंका लागेमा थप परीक्षण र उपचारका लागि बुटवल स्थित धागो कारखाना र भैरहवा स्थित भीम अस्पतालमा स्थापना गरिएको आइसोलेसन अस्पतालमा पठाउनका लागि एम्बुलेन्सको व्यवस्था मिलाइएको छ । सामान्य ज्वरो आउँदा नआत्तिनुहुन र बढी ज्वरो आएमा स्वास्थ्य संस्थामा जानुहुन म सबैलाई अनुरोध गर्दछु ।
अन्तमा, सरकारले गरेको लकडाउन हामीहरुको स्वास्थ्यका लागि हो । यसर्थ यसको पूर्णपरिपालना गरौं । सरकारले दिएको निर्देशनमा हिँड्नु हामी सबैको कर्तव्य हो । कोरोना भाइरसले सानाठूला, धनिगरिब कोही पनि भन्दैन । त्यसैले यो विषयमा सबै सचेत बनौं, आआफ्नो घरभित्र बसौं । यसलाई सरकारलाई गरेको सहयोगको रुपमा मात्र होइन, आफ्नै स्वास्थ्य रक्षाका लागि गरिएको कार्य हो भन्ने बुझौं । अन्तमा लकडाउनले दैनिक ज्यालामजदुरी गरेर कसैलाई साँझबिहानको छाक टार्न अत्यन्त समस्या भएको छ भने आफ्नो टोल विकास संस्थामार्फत् सम्बन्धित वडाध्यक्षलाई खबर गर्नुहुन पनि सम्बद्ध सबैलाई अनुरोध गर्दछु ।

SHARE Face

 
 
  
 

You may also like