अल्लोको मास्क उत्पादन शुरु

दाङ।मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् ।कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।

यस अघि स्थानीय बजारमा मास्कको चर्को अभाव देखिएको थियो । केही दिनअघिबाट यहाँ उत्पादन गरिएको अल्लोको कपडाबाट निर्माण गरिएको मास्क बजारमा आएपछि यहाँका उपभोक्ताले केही राहत महसुस गरेको बताइएको छ ।

चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले अल्लोको मास्क निर्माण गरेर बजारमा ल्याएको समूहका अध्यक्ष प्रेमकुमारी पुनले बताईन।

यसअघि मास्क उत्पादन नगरे पनि मास्कको अभाव भएको कुरा आएपछि मास्क उत्पादन शुरु गरेको उनको भनाइ छ । यसलाई उनीहरुले व्यावसायिकतामा समेत जोडेका छन् ।

अब व्यवसायिक रुपमा उत्पादन गरेर आन्तरिक माग खपत गर्ने योजनाका साथ अगाडि बढ्ने उनले बताए । लागत मूल्यमा केही मुनाफा राखेर मास्कको बजार मूल्य निर्धारण गरिएको उनको भनाइ छ ।

 
 
  
 

You may also like