सैनामौनामा सर्पदंश उपचार केन्द्र संचालन

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ११ स्थित वनकट्टीमा आजदेखि सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ । उक्त उपचार केन्द्रको सैनामैना नगरपािलकाका प्रमुख चित्र बहादुर कार्किले शुभारम्भ गर्नुभयो ।


उपचार केन्द्रमा दक्ष जनशक्ति व्यवस्थापनका लागि संघीय मन्त्रालयबाट दरबन्दी स्वीकृत गराइ सकिएको सैनामैना नगरपालिकाका प्रमुख कार्कीले बताउनुभयो । सैनामैनामा छिटै नै वडाबाटै वडा स्तरीय आधारभुत स्वास्थ्य केन्द्र संचालनमा ल्याउन लागेको समेत प्रमुख कार्कीले बताउनु भयो । यसका लागी आवश्यक जनशतिm समेत ब्यवस्था गरि सकेको बताउनु भयो । उहाँले जनताको आधारभूत स्वास्थ्य आवश्यक्ता पूरा गर्न नगरपालिका लागिपरेको उल्लेख गर्दै यसबाट जनतालाई भरपुर लाभ लिन आग्रह गर्नुभयो ।

करिव १४ कठ्ठा जग्गामा रु. १ करोड ११ लाखको लागतमा संचालन भएको उपचार केन्द्रमा विरामीको उपचार गर्न नेपाली सेनाको सहयोगमा एक र संघीय स्वास्थ्य मन्त्रालयबाट एक गरी दुई विशेषज्ञ चिकित्सक रहने छन ।
सो उपचार केन्द्रको भवनको माथिल्लो तलामा सर्पदंश उपचार केन्द्र र तल्लो तलामा स्वास्थ्य चौकी रहने सैनामैना नगरपालिका वडा नंं. १० का अध्यक्ष लोकनारायण थापाले जानकारी दिनुभयो ।

उपचार केन्द्रबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पासम्मका जनता लाभान्वित हुने केन्द्रका व्यवस्थापन समिति अध्यक्ष मिनप्रसाद घिमिरेले बताउनुभयो । सर्पदंश उपचार केन्द्र निर्माणका लागि २०७२ सालमा श्रीमद् भागवत महायज्ञ समेत आयोजना गरी रु.६९ लाख भएको थियो ।

उपचार केन्द्रको भवन बनाउन सैनामैना नगरपालिकाले रु.२९ लाख ५५ हजार, स्थानीय नरिश्वर पाण्डेले रु.३ लाख, कञ्चन गाउँपालिकाले रु.९८ हजार, गैडहवा गाउँपालिकाले रु. १ लाख र भूपु सैनिक सालझण्डीले रु.५५ हजार प्रदान गरेका थिए ।
भवन निर्माणमा नेपाली सेनाको कालिदत्त गुल्मका सैनिकले श्रमदान गरेका थिए । वि.स २०७५ फागुनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

सैनामैनामा यस अघिनै पदमपाणी प्राकृतिक तथा योग चिकित्सालय संचालनमा आएको छ । यस्तै सैनामैनामा ३ वटा स्वास्थ्य चौकी र १ शहरी स्वास्थ्य केन्द्र संचालित रहेको छ । स्वास्थ्य चौकी मार्फत सैनामैनामा दैनिक करिब ३०० जनाले स्वास्थ्य लाभ लिई रहनु भएको सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थीले जानकारी दिनु भयो । सैनामैनाका स्वास्थ्य चौकीबाट नेपाल सरकारबाट प्राप्त ३९ प्रकारका निशुल्क औषधी उपलब्द गराईको छ ।

सैनामैनामा बिभिन्न समयमा निशुल्क स्वास्थ्य शिबिर समेत संचालन गर्दै आएको छ । बिभिन्न सामाजिक संघ सस्थाको सहकार्यमा सैनामैनामा महिलाहरुको पाठेघरको निशुल्क चेकजाच, निशुल्क छाला रोग चेकजाच शिबिर, निशुल्क आखा शिबिर जस्ता शिबिरहरु सम्पन्न भएका छन ।

सर्पदंश उपचार केन्द्रका अध्यक्ष मिन प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कंचन गाउपालिकाका प्रमुख गोर्कण बहादुर क्षेत्री, सैनामैनाका उपप्रमुख बिना राना, सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल सरकारका सहसचिव कृष्ण प्रसाद भण्डारी, सैनामैनाका वार्ड अध्यक्ष सुनिल मरासिनी, चन्दा दाता यमलाल गैरे, नेकपाका नगर संयोजक नारायण न्यौपाने, नेपाली काग्रेसका राम प्रसाद अधिकारी, समाजसेवी कृष्ण घिमिरे, ईन्द्र जि.सि, ज्ञान बहादुर सोमोरे, नेत्र प्रसाद घिमिरे लगायतले बोल्नु भएको थियो ।

स्वास्थ्य चौकी स्तरोन्नती


सैनामैना नगरपालिका वडा नं ४ स्थित मुर्गियामा रहेको पर्रोहा स्वास्थ्य चौकी स्तरोन्नती गरी चिकित्सकको दरवन्दी कायम भएको छ । स्वास्थ्य चौकीमा चिकित्सकको दरवन्दी कायम भए संगै स्वास्थ्य सेवा लिने संख्या बृद्धि भएको छ । यस स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा समेत संचालनमा रहेको छ । दैनिक करिब १०० भन्दा बढी सेवा ग्राही आउने गरेको यहा कार्यरत डा प्रकाश खरेल बताउनु हुन्छ । प्रत्येक बुधवार बालबालिकामा खोप दिईने र गर्भवती महिलाको परीक्षण हुने समेत डा खरेल बताउनु हुन्छ । यहाबाट नेपाल सरकारबाट प्राप्त ३९ प्रकारका औषधी उपलब्ध रहेको समेत चिकित्सक खरेल बताउनु हुन्छ । यस स्वास्थ्य चौकी भित्रै प्रयोगशाला समेत रहेको छ भने रण अम्बिका आखा अस्पताल भैरहवाको सहकार्यका दैनिक आखा उपचार केन्द्र समेत संचालन गरीएको छ ।

 
 
  
 

You may also like