सिद्धबाबामा दर्शनार्थीको घुंईचो

by समतल अनलाइन

बुटवल। पश्चिम नेपालकै प्रसिद्ध पाल्पाको सिद्धबाबा मन्दिरमा आज बिहानै देखि दर्शनार्थीहरुको भिड लागेको छ । मध्यराती देखि मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरुको घुंईचोले बुटवल पाल्पा अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको ट्राफिक जाम भएको छ ।

तिनाउ गांउपालिका पाल्पामा अवस्थित सिद्धबाबा दर्शनका लागि बुटवल आसफासका १५ जिल्ला सहित भारतबाट समेत दर्शनार्थीहरु आउने गरेको मन्दिर ब्यवस्थापन समितीले जनाएको छ । दर्शनार्थीहरुलाई सहजढंगले पुजाको ब्यवस्था मिलाउन मध्यरातीदेखि नै प्रहरी र स्वयं सेवकहरु परिचालित गरिएका छन् ।
सिद्धभन्ने वित्तिकै कुनै काम फत्ते हुनु वा प्राप्त हुनु भन्ने सामान्य अर्थ लाग्छ । सिद्धबाबा मन्दिरमा आएर श्रद्धालु भक्तजनहरुले मागेका वर वा आशा गरिएका कुराहरु सिद्ध भएको वा प्राप्त भएकै कारण यस मन्दिरको नाउँ पनि सिद्धबाबा रहन गएको धार्मिक बिश्वास रहेको छ ।

सिद्धबाबा क्षेत्र भर्तृहरिको तपोभूमि हो । यस ठाउँमा उनले आफ्नो वैराग्य जीवन ब्यतित गरी सिद्धि प्राप्त गरेको हुँदा सिद्धबाबा रहन गएको किंवदन्ती समेत पाइन्छ ।

भर्तृहरि खासमा भारतको तत्कालीन उज्जैन राज्यका राजा थिए । उनी विक्रम सम्बत् चलाउने राजा विक्रामादित्यका दाजु थिए भनिन्छ । आफ्नी श्रीमती पिंगला र भाइसंगको खटपटका कारण राज्य त्याग गरेर यस क्षेत्रमा तपस्या गरेर नाथ सम्प्रदाय अवलम्वन गरी सिद्धि प्राप्त गरेको किंवदन्ती पाइन्छ । उनले यसै क्षेत्रमा बसेर त्रिसतक लेखेका थिए भन्ने धार्मिक बिश्वास रहंदै आएको छ । महाशिवरात्री तथा साउन महिना सहित हिन्दु धर्मालम्बीहरुको शिव आराधारनाका पर्वहरुमा सिद्धबाबामा पुजा आजा गर्ने प्रचलन छ ।

 
 
  
 

You may also like