अख्तियारको त्रासले बढायो राजश्व

by समतल अनलाइन

बुटवल । गत माघ २४ गते शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यलयले दुई जना ट्राफिक प्रहरीलाई घुस लिंदालिदैं रङ्गेहात पक्राउ ग¥यो ।

अख्तियारले बुटवल रामनगर ट्राफिक विटमा कार्यरत असई सुर्यबहादुर अधिकारीलाई ५ हजार रुपैंया र देवदह खैरेनी पोष्टमा कार्यरत छविलाल पोखरेललाई ३ हजार रुपैंया सहित पक्राउ गरेको थियो । ट्रिपरहरुलाई आवतजावतमा सहजीकरण गरिदिने भन्दै चालकरुबाट घुस लिंदालिदैं उनिहरु पक्राउ परेका थिए ।

अख्तियार सडकमा नै उत्रेर ट्राफिक प्रहरीलाई रङ्गेहात पक्राउ गरेको यस्तो घटना चालु आर्थिक बर्षको लागि पहिलो थियो । यसले अख्तियारको सक्रियता मात्र दर्शाएन ट्राफिक कार्यलयमा दाखिला हुने राजश्वमा समेत सकारात्मक असर पारेको छ । अख्तियारले ट्राफिक प्रहरीहरुमाथि निगरानी बढाएसँगै सडकमा ट्राफिक नियम पालना नगरेका सवारीको कारवाहीबापत उठ्ने राजश्व ट्राफिक कार्यालयमा पहिलेभन्दा धेरै दाखिला हुने गरेको छ ।

प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलको तथ्याङ्क अनुसार माघ महिनामा चालु आर्थिक बर्षकै सबैभन्दा धेरै राजश्व दाखिला भएको छ । त्यसमा पनि दुई प्रहरीको कारवाहीपछि राजश्व संकलनमा बढोत्तरी आएको तथ्याङ्कले देखाउँछ ।

कार्यालयले मातहतका कार्यालयहरुबाट सवारी साधनको कारवाही वापत चालु आर्थिक बर्षको माघ महिनामा मात्रै १ करोड २० लाख ५ हजार रुपैंया राजश्व संकलन गरेको छ । यो पुस महिनाको भन्दा १३ लाख ८२ हजार ५ सय रुपैंयाले धेरै हो । माघ महिनामा पनि अन्तिम सातातिर धेरै राजश्व संकलन भएको तथ्याङ्कमा छ ।

अख्तियारको उक्त कारवाहीपश्चातका ५ दिनमा(माघ मसान्तसम्म) कार्यालयले दैनिक ४ लाख १० हजार ८ सय रुपैंयाका दरले २० लाख ५४ हजार ५ सय रुपैंया उठाईसकेको छ । अख्तियारले ती दुई ट्राफिक प्रहरीलाई माघ २४ गते पक्राउ गरेको थियो ।

पक्राउ गरेको अर्कोदिनमात्रै कार्यालयमा ४ लाख ३७ हजार ५ सय रुपैंया राजश्व दाखिला भएको छ । जुन पक्राउ गर्ने दिन भन्दा एक लाख २५ हजार ५ सय रुपैंयाले धेरै हो । एकै दिनमा एक लाख रुपैंयाभन्दा धेरै राजश्व संकलन हुनुले अख्तियारले गरेको कारवाहीको असर देखिएको कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मधुसुदन लुईटेल स्वीकार्छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयका सुचना अधिकृत सुरेश भुषालले अभियुक्तद्वयले आवतजावतमा सहजीकरण गरिदिने भन्दै ट्रिपर चालकहरुसँग नियमित रकम उठाउँदैं आएको सूचना पाएकाले स्टीङ अपेरेशन गरिएको जानकारी दिए । सोही सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको भुषालले बताए । ‘ट्रिपरहरुबाट नियमित रकम उठाउने गरेको सूचना हामिले पाएका थियौं । सोही सूचनाको आधारमा पक्राउ गरिएको हो ।’भुषाल भन्छन् । अभियुक्तद्वयलाई हाल अख्तियारको केन्द्रीय कार्यालयमा थप अनुसन्धानको लागि राखिएको छ । अनुसन्धानमा दोषी देखिए उनिहरुलाई विषेश अदालतमा मुद्धा चलाउने अख्तियारको तैयारी छ ।

 

 
 
  
 

You may also like