सैनामैना । प्रदेश नं ५ मा ‘राष्ट्रिय दादुरा रुबेला खोप अभियान २०७६’ रुपन्देहीको सैनामैनाबाट सुरु भएको छ । वडा नं ४ स्थित पर्रोहा बहुमुखी क्याम्पसमा बिहीबार आयोजना गरिएको प्रदेश स्तरीय खोप अभियानको प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले एक शिशुलाई पोलियो थोपा खुवाएर अभियानको शुभारम्भ गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री पोखरेलले खोप कार्यक्रममा नजोडिएका आमा तथा बालबालिकाका बिचमा पुग्नका लागि खोप अभियान सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो भने – ‘अहिले पनि सबै आमाहरु अस्पताल गएर सुत्केरी हुने प्रचलन बसिसकेको छैन् । घरमै सुत्केरी हुने परम्मरा छ । जसले गर्दा खोप अभियानमा जोडिन पाउनुभएको छैन् । खोप अभियान नियमित प्रक्रियामा नजोडिएकाहरुका बिचमा पुग्ने प्रयास हो ।’ मुख्यमन्त्री पोखरेलले जुन परिवार अहिले सम्म पनि खोप कार्यक्रममा जोडिएको छैन् । त्यो स्थान सम्म यो अभियानको सन्देश पुर्याउन सकेमात्र अभियानले सार्थकता पाउने उल्लेख गर्नुभयो । स्वस्थ नागरिक निर्माण गर्ने सबैभन्दा महत्वपुर्ण पक्ष परिवार रहेको बताउँदै पोखरेलले परिवारलाई कार्यक्रम सँग जोड्ने जिम्मेवारी भने राज्यको रहेको बताउनुभयो ।
लुम्विनी प्रादेशिक अस्पताल, बुटवल प्रदेशको गौरवको आयोजना रहेको उल्लेख गर्दै अस्पतालको नजिक रहेका सटरहरुले अस्पतालको सेवा प्रवाहमा चुनौती खडा गरेकाले सटरहरु हटाइएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । पोखरेलका अनुसारर अस्पताललाई प्रदेशको विशेषज्ञ सेवा प्राप्त गर्ने अस्पतालका रुपमा विकास गर्ने योजना छ ।
राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले दादुरा रुबेलाको नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । नेकपाका प्रमुख सचेतक समेत रहेका भट्टराईले कुनै पनि बालबालिका दादुरा रुवेला खोप लगाउन बाट बन्चित हुन नहुने उल्लेख गर्नुभयो ।
सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले नगरमा स्वास्थ्य क्षेत्रका हकमा पदमपाण्ी योग तथा प्राकृतिक चिकित्सालय, आँखा अस्पताल, सर्पदंश अस्पताल, स्वास्थ्य चौकी निर्माण लगायतका कार्यगतिविधीका बारेमा जानकारी गराउनुुभयो । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको सेवा नगरपालिकामा सुरु गरिएको समेत बताउनुभयो ।
“पुर्णखोप सुरक्षित भविष्य ”भन्ने नारा सहित सुरु भएको खोप अभियान रुपन्देहीमा तीन चरणमा १ लाख ९ हजार ७९९ बालवालिकालाई दादुरा रुवेला र १ लाख ३० हजारलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।
बिहीबारदेखी ९ गतेसम्म ७ पालिका, फागुन १३ देखि १७ एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म ८ पालिकाका ८१४ खोपकेन्द्रमा पोलियो थोपा तथा खोप लगाइने छ । त्यसका लागि ९२८ कर्मचारी र १ हजार ६२८ स्वंयसेवक परिचालन भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो । अभियानमा ९ महिनादेखी ५ बर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप र जन्मेदखी ५ बर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी, जिल्ला समन्वय खोप समितीका एकराज विश्वकर्मा र स्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठले पोलियो थोपा र खोपको बारेमा जानकारी गराउनुुभयो ।
सङ्घीय सरकारले ३० लाख बालवालिकालाई दादुरा रुवेला विरुद्धको खोप प्रदान गर्ने र तराईका १९ जिल्लाका बालवालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको छ । बिहीबारदेखी पहिलो चरण अन्तर्गत प्रदेश नं १,२ र ५मा राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरु भएको हो । नेपालले सन् २०२३ सम्ममा दादुरा रुबेला नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सबै बालबालिकाले खोप पाउनुपर्छ भन्ने अवधारणाअनुसार अभियान शुरु गरिएको हो । बाल मृत्युदर घटाउनु, औषत आयुमा वृद्धि गर्नु अभियानको लक्ष्य रहेको छ