पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा भयो बुटवल

by समतल अनलाइन
53Shares

बुटवल। बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा गरिएको छ। जिल्ला खोप समन्वय इकाईबाट प्राप्त सिफारिस तथा आवश्यक मापदण्ड पूरा भएपछि बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा गरेका हुन्।

नगरभित्र रहेका करिब ६ हजार बालबालिकाले उमेरअनुसार सबै खोप प्राप्त गरेपछि बुटवलले पूर्ण खोप दिगोपना सुनिश्चितताको मान्यता प्राप्त गरेको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले बुटवलले पूर्ण खोप सुनिश्चितताका लागि आवश्यक सबै सूचक पूरा गरेको भन्दै प्रमाणपत्र हस्तान्तरण गरे। उनले अन्य स्थानीय तहको तुलनामा बसाइँसराइका कारण बुटवलमा यो अभियान कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए।

नगर प्रमुख खेलराज पाण्डेयले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको थप सुदृढीकरणमा उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए। उनले खोप सेवाको नियमित अनुगमन तथा आवश्यक व्यवस्थापनलाई निरन्तरता दिइएको जानकारी दिए।

कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले पूर्ण खोप दिगोपना सुनिश्चितता अभियानको महत्वबारे प्रकाश पार्दै खोप, पोषण तथा सुरक्षित मातृत्वजस्ता आधारभूत सेवाले समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप फोकल प्रमुख डिलाराम भुषालले बुटवल रुपन्देहीको नवौँ स्थानीय तहका रूपमा पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा भएको जानकारी दिए। उनले अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको निरन्तरतामा जोड दिए।

कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वस्थ बालबालिकाबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताउँदै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।

कार्यक्रममा पूर्ण खोप दिगोपना सुनिश्चितता अभियानमा योगदान पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखाका प्रमुख युवराज पाण्डेले प्रत्येक वर्ष घरधुरी सर्वेक्षणमार्फत बालबालिकाले उमेरअनुसार खोप पाए–नपाएको सुनिश्चित गर्ने, छुटेका बालबालिकालाई खोप उपलब्ध गराउने तथा नियमित अनुगमन गर्ने कार्य भइरहेको बताए।

जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन कल्पना भुषालका अनुसार सबै निर्धारित मापदण्ड पूरा गरेपछि बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा गरिएको हो। उपमहानगरपालिकामा १५ महिनामुनिका तथा १६ महिनादेखि पाँच वर्षमुनिका गरी करिब ६ हजार बालबालिका रहेका छन्।

You may also like

This will close in 0 seconds