दसैँमा खानपानमा संयमता अपनाउन चिकित्सकको सुझाव

by समतल अनलाइन
22Shares

टीकापुर — दसैँ नजिकिएसँगै बजारमा लुगाकपडा, खाद्यान्न, माछामासु तथा चाडपर्वमा आवश्यक सामग्री किन्ने र घरमा परिकारको जोहो गर्ने क्रम बढेको छ। दसैँलाई मीठोमसिनो खाने, आफन्तसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने पर्वका रूपमा लिइन्छ। तर, चाडपर्वमा आवश्यकताभन्दा बढी माछामासु र चिल्लो खानेकुरा खाँदा स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा संयमता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको तयारी पूरा भएको छ। उनको परिवारमा दसैँका बेला अन्य समयभन्दा बढी माछामासु पाक्छ। परिवारका सदस्य आफैँ खाने र आफन्तलाई समेत खुवाउने गरेको उनी बताउँछिन्।

‘दसैँमा सकेसम्म घरमै खसीबोका काट्छौँ। नकाटे पनि पाँचदेखि सात किलो मासु किन्छौँ,’ रम्फेली भन्छिन्, ‘चाडपर्वमा सबैले पेटभरि खान्छौँ। दसैँ भनेको माछामासुले पेट भर्ने पर्वजस्तै लाग्छ। अष्टमीदेखि पूर्णिमासम्म माछामासु खाने चलन छ।’
टीकापुरकै रेखा परियारको घरमा पनि दसैँका बेला खसीबोका काट्ने गरिन्छ। उनी पनि दसैँमा अन्य समयभन्दा बढी माछामासु तथा विभिन्न परिकार खाने गरेको बताउँछिन्।

‘दसैँमा टन्न खाने हो। हामी त बरु बिरामी भए औषधि खान्छौँ, तर माछामासु र सेलरोटी नखाने भन्ने हुँदैन,’ उनी भन्छिन्, ‘घरमा पनि खान्छौँ, माइत गएर पनि खान्छौँ।’

चाडपर्वलाई नेपाली समाजमा विशेष महत्वका साथ मनाइन्छ। यस्ता पर्वले परिवार तथा आफन्तबीच भेटघाट, मेलमिलाप, खुसी र एकताको सन्देश दिन्छन्। दसैँको तयारीसँगै घरघरमा खाद्यान्न, तरकारी, फलफूल तथा माछामासुको जोहो गर्ने क्रम पनि बढ्छ। तर, चाडपर्व मनाउने क्रममा खानपानमा गरिने व्यवहारले मानिसको शारीरिक स्वास्थ्य, मानसिक अवस्था र आर्थिक व्यवस्थापनमा समेत प्रभाव पार्ने गर्छ।
बिन्तिराम चौधरीको घरमा पनि चाडपर्वका बेला अन्य समयभन्दा बढी माछामासु पाक्ने गर्छ। घरमै खसी काटेर परिवारका सदस्य र आफन्तलाई खुवाउने गरिएको उनी बताउँछन्। तर, खानपानमा विविधता र स्वास्थ्यलाई ध्यान दिने गरेको उनको भनाइ छ।

‘चाडपर्वमा माछामासु तथा चिल्ला खानेकुरा बढी पाक्छन् र अन्य समयभन्दा बढी खाइन्छ,’ उनी भन्छन्, ‘माछामासु र चिल्ला खानेकुरा खाँदा त्यसलाई पचाउन सहयोग गर्ने खानेकुरा पनि खान्छौँ। सलाद, फलफूल र सागपातलाई यो समयमा अनिवार्यजस्तै बनाएका छौँ।’
लम्कीचुहा नगरपालिका–१ का रुपेश न्यौपानेको परिवारले भने यस वर्ष दसैँमा माछामासुको उपभोग घटाउने तयारी गरेको छ। विगतका वर्षमा दसैँका बेला बढी माछामासु खाने गरेको उनको परिवारले गत वर्षको अनुभवपछि खानपानमा सावधानी अपनाउन थालेको हो।

गत वर्ष धेरै खसीको मासु खाएकै कारण उनका बुबा बिरामी परेपछि तीन दिन अस्पतालमा बस्नुपरेको थियो।
‘गत वर्ष मासु अपच भएर बुबा दसैँकै समयमा बिरामी हुनुभयो। तीन दिन अस्पताल बस्नुपर्‍यो,’ न्यौपाने भन्छन्, ‘माछामासु र चिल्ला खानेकुरा धेरै खान नहुने रहेछ। यस वर्ष पर्व मनाउनका लागि मात्रै थोरै मासु किनेर खाने तयारीमा छौँ।’
शिक्षक टेकबहादुर सार्की पनि चाडपर्वको महत्वसँगै स्वास्थ्य र आर्थिक व्यवस्थापनलाई ध्यान दिनुपर्ने बताउँछन्। उनको परिवारले माछामासु खाँदा अन्य पोषिला खानेकुरालाई पनि आहारमा समावेश गर्ने गरेको छ।

‘मेरो घरमा माछामासु खाँदा स्वास्थ्यलाई ध्यानमा राख्छौँ। चाडपर्वमा हाम्रो घरमा फलफूल र सागपातमा बढी खर्च हुन्छ,’ उनी भन्छन्, ‘पर्वमा मासुका विभिन्न परिकार बनाइन्छन्। माछा, मासु, अन्डा र दुग्ध पदार्थलाई पोषिलो आहारका रूपमा प्रयोग गरिन्छ। तर, त्यससँगै शरीरलाई आवश्यक अन्य खानेकुरा पनि खानुपर्छ।’

मासु शरीरलाई आवश्यक प्रोटिनको एउटा स्रोत हो। तर, मासुको प्रकार र पकाउने तरिकाअनुसार त्यसमा बोसो तथा क्यालोरीको मात्रा फरक हुन्छ। विशेषगरी बढी बोसो भएको मासु र चिल्लो परिकार धेरै खाँदा पाचनमा असहजता हुन सक्छ। आवश्यकताभन्दा बढी खाने बानीले अपच, पेट भारी हुने तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
टीकापुर अस्पतालका चिकित्सक डा. संवाद खरेलका अनुसार चाडपर्वमा माछामासु र चिल्लो खानेकुरा बढी खाँदा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्छन्। विशेषगरी युरिक एसिडको समस्या भएका व्यक्तिले खानपानमा थप सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।
‘माछामासु धेरै खाँदा क्षणिकदेखि लामो समयसम्म असर पर्न सक्छ। तत्काल अपच हुने समस्या देखिन सक्छ भने युरिक एसिडको समस्या भएकालाई पनि असर गर्न सक्छ,’ डा. खरेल भन्छन्, ‘बोसोयुक्त खानेकुरा धेरै खाँदा पाचन प्रणाली र कलेजोको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले सचेत हुनुपर्छ। कुनै पनि खानेकुरा आवश्यकताभन्दा बढी खानु हुँदैन।’

चिकित्सक खरेलका अनुसार दसैँमा मासु खाँदा हरियो सागसब्जी, गाजर, रेसादार तरकारी तथा फलफूललाई पनि आहारमा समावेश गर्नुपर्छ। झोलिलो पदार्थ पर्याप्त पिउने र एकैपटक धेरै खाना खानुको सट्टा आफ्नो आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार खानपान गर्नुपर्ने उनको सुझाव छ।
‘खसीको मासु र भात धेरै खानु हुँदैन। हामीकहाँ धेरै खाने चलन छ,’ उनी भन्छन्, ‘झोलिलो खानेकुरा, सागपात, रेसादार तरकारी तथा फलफूल बढी खानुपर्छ।’

दसैँमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने, घुमफिर गर्ने, आफन्तकहाँ टीका थाप्न जाने र दक्षिणा दिने परम्परा छ। यी गतिविधिले पर्वलाई उल्लासमय बनाउनुका साथै सामाजिक सम्बन्धलाई बलियो बनाउँछन्। तर, पर्वको खुसीसँगै स्वास्थ्य र आर्थिक अवस्थालाई पनि ध्यान दिन आवश्यक छ।
चाडपर्वको वास्तविक आनन्द लिन खानपानमा सन्तुलन कायम गर्नु, आवश्यकताभन्दा बढी नखानु र आहारमा विभिन्न प्रकारका पोषिला खानेकुरा समावेश गर्नु महत्वपूर्ण हुन्छ। यसले दसैँको रमाइलोलाई कायम राख्दै सम्भावित स्वास्थ्य समस्याबाट जोगिन सहयोग पुर्‍याउन सक्छ।

You may also like

This will close in 0 seconds