तिलोत्तमामा दादुरा–रुबेला खोप अभियान सुरु

by समतल अनलाइन

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ ।

अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गर्नुभयो । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताउनुभयो ।

साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने छन् । यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने तिलोत्तमा नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले बताउनुभयो ।

अभियानमा कोही नछुटुन् भन्ने उद्देश्यले खोप लगाएका बालबालिकाको हातमा चिन्ह समेत लगाइनेछ । तिलोत्तमा नगरपालिकामा अभियानको क्रममा ९ हजार ७ सय ६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ । यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइनेछ । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन भएको हो । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन् । ‘पूर्ण खोप ः सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले यो अभियान सञ्चालन गर्न लागेको हो ।

 
 
  
 

You may also like