आज अन्तर्राष्ट्रिय कण्डम दिवस, असुरक्षित सम्बन्धले ८० प्रतिशत जोखिम

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल । कण्डमको प्रयाप्त प्रयोग नहुँदा एचआईभी एड्सको संक्रमण दर बढेको पाइएको छ । एचआईभी संक्रमित भएका मध्ये ८० प्रतिशत असुरक्षित यौन सम्पर्ककै कारण संक्रमणमा परेको पाइएको हो ।

जसमा कण्डमको प्रयोग भएको पाईदैन, कण्डमको प्रयोग नभई गरिएको यौन सम्पर्कले यौन रोगसँगै एचआईभी एड्सको जोखिम बढाएको एड्स हेल्थ केयर फाउण्डेशन नेपाल क्षेत्रीय कार्यालय बुटवलले जानाएको छ । फाउण्डेश बुटवलका क्षेत्रीय कार्यक्रम संयोजक धर्मराज भट्टराईले असुरक्षित यौन सम्पर्कबाट हुने जोखिमलाई कम गर्नका लागि उपयुक्त माध्यमनै कण्डमको प्रयोग भएको बताउनुहुन्छ ।

उहाँले कण्डमको प्रयोगले एचआईभीको संक्रमण रोक्न सकिने बताउनुभयो । उहाँका अनुसार समुदायमा अझैपनि लाज र सरमका कारण कण्डमको प्रयोगमा बृद्धि भएको पाईदैन, अर्काेतर्फ कण्डमको प्रयोग बिना गरिएको सम्पर्कबढी आनन्ददायी हुने भ्रमले पनि संक्रमण बढाएको छ । कण्डमको प्रयोगनै यौन रोक रोकथामको मुख्य पाटो भएको बिर्सन नहुने उहाँको तर्क छ । १५ देखि ४९ वर्ष उमेरका ब्यक्तिहरुमा गरिएको एक सर्वेक्षणले ४ प्रतिशतले मात्र कण्डमको प्रयोग गरेर यौन सम्पर्क गरेको पाइएको फाउण्डेशनले बताएको छ ।

८० प्रतिशत असुरक्षित यौन सम्पर्कबाट संक्रमण हुने गरेतापनि बाँकी २० प्रतिशत अंग प्रत्यारोपण, रगतग्रहण, लागुऔषध दुब्यसनी, निर्मुलीकरण नभएका औजार प्रयोग तथा संक्रमित आमाबाट जन्मिने शिशु पर्ने गर्दछन् । त्यसो त आर्थिक वर्ष २०७५÷७६ मा लुम्विनी प्रादेशिक अस्पतालबाट ५० हजारबढी कण्डम वितरण भएको छ । विभिन्न स्थानमा क्याम्प तथा स्टल राख्नुका साथै अस्पताल, फाउण्डेशन परिषरबाट उक्त परिमाणको कण्डम वितरण गरिएको संयोजक भट्टराईले जानकारी दिनुभयो ।

यसलाई बृद्धि गर्दै जाने उहाँले बताउनुभयो । यस्तै अर्काेतर्फ बैदेशिक रोजगारिका लागि जाने आप्रवासि कामदार र उनका श्रीमति एचआईभी एड्सको जोखिमा बढी परेको पाईन्छ । लागुऔषधको प्रयोगबाट हुने संक्रमणको दर भने कम छ । उमेर समुहमा १५ देखि ४९ वर्षका ब्यक्ति जोखिमा परेका छन् भने एचआईभीको बारेमै नबुझ्ने समुह पनि त्यसको जोखिममा परेका छन् । त्यसो त बुटवल एआरटी केन्द्रबाट १ हजार २ सय २० जनाले अहिले सेवा लिई रहेका छन् भने जसमा रुपन्देहीकै स्थानीय ९ सय १३ छन् । लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गरेका मध्ये ६९ जना नयाँ संक्रमित पत्ता लागेको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनका अनुसार एचआईभी संक्रमित आमाहरुबाट जन्मेका नौ शिशुहरु संक्रमण रहित छन् भने एचआईभी एड्सका कारण मृत्यु हुनेको संख्या ३४ छ । यो तथ्याङ्क आर्थिक वर्ष २०७५÷७६ को हो । सबैलाई औषधी/उपचारको पहुँचमा पुर्याउनु पर्छ, सबैवर्ग समुदाय, जाति, उमेर सबैले वरावर उपचार र औषधीको सेवामा पहुँच हुनु पर्छ भन्ने उद्देश्य अहिलेको रहेको फाउण्डेशनका संयोजक भट्टराईले बताउनुभयो । नेपालमा २९ हजार ९ सय चौवालीस र विश्वमा एचआइभी संक्रमितहरुको संख्या अहिले ३ करोड ६९ लाख पुगेको अनुमान छ ।
यसैबीच आज बिहीबार परेको अन्तर्राष्ट्रिय कण्डम दिवस विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ ।

कण्डम प्रयोगको फाईदा, यौन रोग संक्रमणका लागि कण्डमको प्रयोग, लागुऔषध तथा एचआईभी एड्स सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाउन थालिएको हो । बुटवलको ट्राफिक चोकमा आस्था समुह तथा सामाजिक विकास मन्त्रालय प्रदेश ५ को आयोजनामा कार्यक्रम दिउसो हुँदै छ ।

कार्यक्रममा एचआईभी एड्ससँग कण्डमको भुमिका, कण्डमको प्रदर्शन, स्थानीय कलाकारहरुको साँस्कृकति प्रस्तुति रहने आस्था समुहका अध्यक्ष केशव पुन मगरले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like