मानव सेवा आश्रमको महायज्ञमा ६४ लाख संकलन

by समतल अनलाइन

बुटवल । मानव सेवा आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि बुटवलमा सञ्चालित महायज्ञमा तेस्रो दिनसम्म ६४ लाख रुपैयां दान संकलन भएको छ । महायज्ञमा तेस्रो दिन २२ लाख रुपेयां दान संकलन भएको महायज्ञ आयोजक मूल समिति संयोजक लोकनाथ भुसालले जानकारी दिए । महायज्ञको दोस्रो दिन ४२ लाख रुपैयां संकलन भएको थियो ।

मानवीय सेवाका लागि परोपकारी भावनाले आयोजित महायज्ञ भएकाले दानवीरहरुले खुशी साथ दान गर्ने क्रम बढेको भुसाल बताउंछन् । महायज्ञबाट ११ करोड रुपैयां संकलन गर्ने लक्ष्य छ । महायज्ञका कथावाचक भागवत भाष्कर कमलनयन गौतमले संगीतमय कथावाचन गरेका छन् भने कलाकारहरुले विभिन्न धार्मिक झांकी, गीत,नृत्य र नाटक प्रस्तुत गरेका छन् । प्रदेश ५ लाई सडक मानवमुक्त बनाई दुईसय जना बेसहारा र असहाय व्यक्तिलाई राखेर पालनपोषण गर्ने उद्देश्यले आयोजित महायज्ञमा लक्ष्य अनुसार आर्थिक संकलन हुनेमा आफूहरु विश्वस्त रहेको महासचिव माधव नेपालले बताए । बुटवल सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटको उत्तरतर्फ खुला चौरमा माघको २७ गतेसम्म सञ्चालन गरिने महायज्ञमा मानव सेवा आश्रमका सद्भावना दुत मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य), हास्य कलाकार मनोज गजुरेल सहित सामाजिक अभियान्ताहरु, राजनीतिज्ञ एर्व धार्मिक सम्प्रदायका धर्मगुरुहरु समेत सहभागि हुने महायज्ञ मूल समितिका सचिव गुनाराम घिमरले बताए ।

बेसहारा र सहयोगापेक्षी सडक मानवलाई व्यवस्थापन गर्न चार तले भवन बनाउन बुटवलको हिलपार्क परिसरमा जग्गाको व्यवस्थापन भइसकेको छ । भवन बनाउन प्रदेश सरकारले २५ लाख वजेट विनियोजन गरेको र बांकी रकम जुटाउन महायज्ञ गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

 
 
  
 

You may also like