तरकारीको भाउ आकाशिएपछि मूल्यवृद्धि लक्ष्यभन्दा बढी

by समतल अनलाइन

काठमाडौं। प्याजलगायत तरकारीको भाउ आकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महिनामा मूल्यवृद्धि लक्ष्यभन्दा बढी अर्थात् ६ दशमलव ५५ प्रतिशत पुगेको छ ।

चालू आवमा मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्‍याउने सरकारको लक्ष्य थियो । तर, मंसिरसम्म आउँदा मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य ९ दशमलव ७६ प्रतिशतले बढेको छ । यस समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडीमा मूल्य वृद्धि उच्च रहेको केन्द्रीय बैंकले बताएको छ ।

तरकारीमा मात्रै ४० प्रतिशतले मूल्य बढेका कारण समग्र मूल्य वृद्धिमा चाप परेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । साथै, भारतको मूल्य वृद्धि बढेका कारण नेपालमा महँगी बढेको उनको तर्क छ ।

भारतले चालू आवमा मूल्य वृद्धिको सीमा ४ प्रतिशत राखेको थियो । तर, भारतमा मूल्य वृद्धि ७ दशमलव ३५ प्रतिशत पुगेको छ । आर्थिक अभियान दैनिकबाट

 
 
  
 

You may also like