बुटवलमा सात साथीको संयुक्त लगानीमा ९९ मार्ट सञ्चालन , १७ जनालाई रोजगारी

by समतल अनलाइन
50Shares

बुटवल । स्वदेशमै व्यवसाय गर्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यका साथ बुटवलका सात जना साथीले संयुक्त लगानीमा ‘९९ मार्ट’ सञ्चालनमा ल्याएका छन्। बाल्यकालदेखिका साथीहरू मिलेर बुटवलको मुख्य व्यापारिक क्षेत्र अमरपथमा मार्ट सञ्चालन गरेका हुन्।

फरक–फरक क्षेत्रमा काम गर्दै आएका सात जना साथीले ‘फ्रेन्ड्स इन्टरनेसनल ट्रेड प्राइभेट लिमिटेड’ स्थापना गरेर करिब १ करोड ५० लाख रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेका हुन्। मार्ट सञ्चालनमा आएसँगै १७ जनाले रोजगारी पाएका छन्।

विदेश जाने वा रोजगारीको खोजीमा भौँतारिनेभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ आफूहरूले व्यवसाय सुरु गरेको सञ्चालकहरूको भनाइ छ। आपसी विश्वास र सहकार्यलाई आधार बनाएर लगानी गरेका उनीहरूले स्वदेशमै व्यवसाय गरेर रोजगारीका अवसर सिर्जना गर्न सकिने प्रयास गरेका छन्।
‘९९ मार्ट’मा दैनिक उपभोग्य खाद्यान्न, सरसफाइका सामग्री तथा विभिन्न घरायसी सामान उपलब्ध छन्। ग्राहकले आवश्यक सामग्री एउटै ठाउँबाट सहज रूपमा खरिद गर्न सकून् भन्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको हो।

बाल्यकालदेखिको मित्रतालाई व्यावसायिक साझेदारीमा परिणत गरेका उनीहरूको यो पहलले सामूहिक लगानीमा व्यवसाय सञ्चालन गर्ने सम्भावनालाई समेत देखाएको छ। आफ्नै ठाउँमा लगानी गरेर व्यवसाय अघि बढाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उनीहरू नयाँ व्यावसायिक यात्रामा लागेका हुन्।

‘९९ मार्ट’का सञ्चालकहरूमा मेराजुदीन मिया, आशिक हुसेन, महोमद कालिम, महम्मद फिरोज आलम, अलाउदिन अली र नारायण बेलबासे रहेका छन्। कम्पनीमा सात जना साथीको संयुक्त लगानी रहेको छ।

You may also like