बर्षा र भारी हिमपातको सम्भावना, कस्तो रहने छ आगामी तीन दिन ?

by समतल अनलाइन

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका धेरैजसो स्थानमा वर्षा र भारी हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बिहीबार बिहान ६ बजे निकालेको बुलेटिनमा तीन दिन वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख छ ।

अहिले नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्नका लागि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
कस्तो रहला आगामी तीन दिनको मौसम ?
बिहीबार
देशको मध्य तथा पश्चिमी भू–भाग लगायत पूर्वी पहाडी भू्–भागमा सामान्य बदली रही बाँकि भू्–भागमा आंशिक बदली रहनेछ । मध्य तथा पश्चिमी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ ।

पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राति मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार
देशको मध्य तथा पुर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

शनिबार

देशको पश्चिमी भू्–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like