जम्मू-कश्मीर प्रकरणमा पाकिस्तानको जवाफ, भारतसँगको व्यापार स्थगन गर्ने

नयाँ दिल्ली । जम्मू-कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबीचको तनाव बढ्ने संकेत देखिएको छ ।

पाकिस्तानले भारतीय उच्चायुक्तलाई निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने निर्णय गरेको पाकिस्तानी मिडियाले जनाएका छन् ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताएका थिए ।

उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत प्रतिवाद गर्ने बताए ।

खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको बताएका छन् ।

भारतले जम्मू-काश्मीरलाई विशेष राज्यको दर्जा हटाउने निर्णय गरेसँगै सो क्षेत्रमा सुरक्षा संवेदनशीलता भन्दै अहिले पूर्ण बन्दको अवस्थामा छ ।

हिमाली क्षेत्र कश्मीरमा भारत र पाकिस्तान दुवैको दाबी रहे पनि ती दुई देशले केही भागमा मात्र शासन गर्दै आएका छन् ।

भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेको छ जसका कारण तीन दशकमा हजारौँले ज्यान गुमाइसकेका छन् ।

भारतले त्यस्ता आन्दोलनकारीहरूलाई पाकिस्तानले सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ ।

पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आत्मनिर्णय चाहने कश्मीरीहरूलाई नैतिक र कूटनीतिक सहयोग मात्रै दिएको बताएको छ ।

 
 
  
 

You may also like