‘सरकारले भाषण होइन, काम गरेर देखाउनु पर्छ’:चन्द्र भण्डारी

by समतल अनलाइन

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिए । ‘विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन’, उनले भने, ‘यसबाट नेपाली राजनीति सच्चिन जरुरी छ । अब सरकार बनाउनेमा होइन, देश विकासमा ध्यान दिन आवश्यक छ ।’

सांसद भण्डारीले समयमा सडक नबन्दा नागरिकले सस्ती भोगिरहनुपरेको तर्फ ध्यानाकर्षण गराउँँदै जनताले भोग्ने हरेक समस्यामा सरोकार भएकाहरू ध्यान जान जरुरी रहेकामा जोड दिए । उनले जनताको कर तथा पैसा उठाएर चल्न हरेक निकाय जवाफदेही हुनुपर्ने बताए । ‘एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनु पर्दैन ?’ सांसद भण्डारीले प्रश्न गरे, ‘बत्ती बालेपछि बिल तिर्नु पर्दैन ? यस विषयमा सभामुखले रुलिङ गर्न जरुरी छ ।’

उनले दैनिकजसो विदेशीने नेपालीहरूलाई रोक्नका लागि सरकारले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको धारणा राखे । सांसद भण्डारीले भने, ‘सरकार बन्ने र बनाउने विषयमा होइन, मुलुक बनाउने बाटोमा लाग्नुपर्छ, सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ ।’ यसैगरी तीजको अवसरमा गरिबी, अभावमा पनि नेपाली महिलाले तीज मनाइरहेको स्मरण गर्दै उनले तीज गीत गाउने विष्णु माझीलाई धेरै नेपालीले हेर्न चाहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले सदनबाट समानता, स्वतन्त्रता र निष्पक्षताको सन्देश जानुपर्ने र लोकतन्त्र जनपक्षीय र समानुपातिक विकास भए÷नभएको अध्ययन गर्नुपर्ने बताए । उनले देश र जनताका लागि राजनीति गर्नुपर्नेमा त्यसो हुन नसकेको धारणा राखे । ‘जनप्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्छ, कुनै पार्टी ठूलो र सानो हुदैन । शोखको राजनीतिक मौलाएर गएको छ, दल खोल्ने सांसद हुने, मुलुकमा अस्थिरता खडा हुने स्थिति छ । त्यसैले जनतामा रहेको बेचैनी, अस्थिरता र अराजकता अन्त्य गर्न जरुरी छ ।’

नेकपा (माओवादी केन्द्र) अमनलाल मोदीले मधेश, दलित, महिला, जनजातिको हकहितका लागि आन्दोलन र क्रान्ति भएको हुनाले शान्ति प्रक्रियामा असरपर्ने काम कसैबाट हुन नहुने बताए । उनले जनयुद्ध लोकतन्त्र र समानताका लागि भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले नेपालमा आएका औषधिको गुणस्तरमा समस्या देखिएको र धेरै गर्भवती महिलाले समस्या भोग्नुपरेको बताइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा महँगी चरम रूपमा बढ्दै गएकाप्रति सरकारको ध्यान जान नसकेको र व्यापारीहरू किन कर तिर्न हिचकिचाउछन् भन्ने प्रश्न उठेको बताए । नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले चाडवाड नजिकिँदै जाँदा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुने गरेकाले कालोबजारी र चर्को मूल्यवृद्धि रोक्न माग गरे । जनमत पार्टीका अब्दुल खानले अवधी समाजमा स्वास्थ्य, शिक्षा, आर्थिक अवस्था उकास्न सीपमूलक तालिम जरुरी भएकाप्रति सरकारको ध्यानाकर्षण गराए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका दीपक कार्कीले पूर्वपश्चिम राजमार्ग हुँदै पहाडी लोकमार्ग जोड्ने पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरीले खेल क्षेत्रको विकास गर्न सकेमा खेलाडीले खेल खेलेरै जीविका चलाउन सक्ने बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल–भारतको खुल्ला सीमानाका कारण नेपालीले भोगेका समस्या, नेपाली भूमिका विषयमा कुरा उठाएको भए राम्रो हुने बताए ।

 
 
  
 

You may also like