परिस्थिति भाँड्ने कोशिस गरिंदैछ तर, सक्दैनन् : प्रधानमन्त्री ओली

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता मच्याउने कोशिस भइरहेको टिप्पणी गरेका छन् । त्यस्ता प्रयासलाई रोक्न सरकार सक्षम रहेको पनि उनले बताएका छन् ।

आज (मंगलबार) बसेको पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा अराजकता मच्चाउन भइरहेका प्रयासलाई सरकारले ट्याकल गर्ने बताएका हुन् । ‘सरकारविरुद्ध आन्दोलन गर्ने र अराजकता मच्चाउने कोशिस भइरहेको छ । सबैको ट्याकल गर्न हामी सक्षम छौं,’ उनको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सुनाए । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ’, ओलीको भनाइ उधृत गर्दै एक पोलिट्ब्यूरो सदस्यले भने । ओलीले ११ भदौमा प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको बताए । ‘जसरी बंगलादेश र श्रीलंकाको उदाहरण दिएर सदनमा बोलेको सुनियो, त्यो एउटा जिम्मेवार नेताले बोल्ने भाषा थिएन’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रचण्डको सदनको सम्बोधनलाई प्रधानमन्त्री ओलीले टुँडिखेलमा भएको प्रदर्शनसँग पनि जोडे । १२ भदौमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी भएको थियो । ‘प्रचण्ड पनि सार्वजनिक कार्यक्रममा हिँडिरहेकै छन्, तर त्यहाँ शेरबहादुरजी र म गएको कार्यक्रममा त्यस्तो’, ओलीले प्रचण्डप्रति आशंका गरेका थिए ।

ओलीले पार्टी बैठक भन्दा बाहिर आफ्नो धारणा राख्दा पनि अराजकता मच्चाउने कोशिस भइरहेको बताउँदै आएका छन् । नयाँ सरकार बनेपछि देशमा सुधारका सकारात्मक संकेत देखिएको ओलीले बैठकमा दाबी गरेका छन् । ‘आर्थिक र लगानीको क्षेत्रमा केही सकारात्मक संकेत देखिएका छन् । आर्थिक विकासमार्फत नै मुलुक समृद्ध हुने हो । आर्थिक विकास भएमा अराजक क्रियाकलाप आफै रोकिएर जान्छन्,’ उनले भने । मंगलवारको बैठक पार्टी संगठनको विषयमा केन्द्रित रहेकाले ओलीले अन्य राजनीतिक विषयभन्दा एमालेलाई सुदृढ शक्ति बनाउनेबारे धारणा राखेका थिए । पोलिटब्यूरो बैठक बुधवार बिहान ११ बजे पुनः बस्नेछ ।

 
 
  
 

You may also like