मालदिभ्स पठाई दिने भन्दै ५० लाख उठाएर एजेन्ट महिला फरार

by समतल अनलाइन

मोरङ । रोजगारीका लागि मालदिभ्स पठाई दिने भन्दै पूर्वका विभिन्न युवाबाट ५० लाख ठगी गरेर मोरङकी एक महिला फरार भएकी छन् ।

माल्दिभ्स पठाई दिने भन्दै पूर्वका विभिन्न जिल्लाका ५० युवाबाट ५० लाख रुपैंयाँ संकलन गरी मोरङको सुन्दरहरैचा–१० विराटचोक बस्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (बिडारी) फरार भएको उजुरी परेको विराटनगरस्थित श्रम कार्यालयले जनाएको छ । उजुरीमा उनले प्रत्येक व्यक्तिबाट एक लाखका दरले रकम लिएको जनाइएको छ ।

कात्तिक तेस्रो सातबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् । पीडित युवाहरुको उजुरीका आधारमा श्रम कार्यालय विराटनगरले कारबाही अघि बढाएको छ ।

विदेश पठाउने नाममा ठगी गरी आफै विदेश भाग्न सक्ने भनेर युवाहरुले लक्ष्मीलाई एअरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका छन्् । उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिएका छन् ।

लक्ष्मीले आफ्नो बैंक खातामै रकम पठाउन लगाएको प्रमाण कार्यालयमा प्राप्त भएको उनले जनाएका छन् । पीडितहरु झापा, मोरङ, सुनसरीलगायतका छन् ।

पीडितहरुका अनुसार लक्ष्मीका श्रीमान रुपेश बिडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाउने विषयमा असहमति जनाउँदा श्रीमतीसँग पारिवारिक कलह समेत भएको जानकारी रुपेशले दिएको पीडितको भनाइ छ ।

पीडित मध्येका सुन्दरहरैचा–१२ का प्रतापकुमार कोइरालाले शुरुमा आफूहरुलाई माल्दिभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताएका छन् । धनकुटा घर भएका अधिकारीले रिसोर्टमा सेक्युरिटी गार्डको काम लगाई दिने भन्दै लक्ष्मीको बैंक खातामा पैसा जम्मा गरिदिनु भनेको कोइरालाले जानकारी दिए ।

 
 
  
 

You may also like