राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका माविलाई

by समतल अनलाइन

बुटवल।बुटवल उपमहानगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वाधिक ३९ पदक सहित कालिका मानविज्ञान माध्यमिक विद्यालय विजेता बनेको छ।

तीनदिन सम्म चलेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २५ स्वर्ण, ११ रजत र ३ कास्य सहित ३९ पदक प्राप्त गर्दै कालिका विजेता बनेको हो।कालिका गत वर्षको पनि रनिङ शिल्ड विजेता हो।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास परिषद्ले गत विहिबारदेखि अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दो लगायतका १७ विधाका ५४ खेलमा प्रतिस्पर्धा भएका थिए।

बुटवल-११ देविनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा शनिबार अबेर सम्पन्न प्रतियोगितामा कालिकाले उपाधीसँगै रनिङशिल्ड र २५ हजार नगद पुरस्कार प्राप्त गरेको हो।

प्रतियोगितामा न्यु होराइजन बोर्डिङ स्कुलले ७ स्वर्ण, ३ रजत र ६ कास्यसहित १६ पदक जित्दै दोस्रो भएको छ। न्यु होराइजनले उपाधीसँगै नगद १७ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्यो। गतबर्ष तेस्रो बनेको न्यु होराइजन यसबर्ष एक स्थान माथी उक्लिएको हो।

प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ५ कास्यसहित १० पदक जित्दै दीप बोर्डिङ स्कुल तेस्रो भएको छ। दीपले तेस्रो उपाधीसँगै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

गत वर्ष दोस्रो बनेको नवीन औद्योगिक कद्दर बहादुर रीता माविले यसवर्ष भने चौथो स्थानमा चित्त बुझाएको छ।

नवीनले ३ स्वर्ण, ३ रजत र ५ कास्यसहित ११ पदक जित्दै चौथो भएको हो। प्रतियोगिताको समापनको अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनाल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।

नगरका ७२ विद्यालयमध्ये सामुदायिकतर्फ २१ र संस्थागततर्फ २१ गरी ४२ वटा विद्यालयका ३ हजार ३५ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।

 
 
  
 

You may also like