भिजन पत्रकारितामा थप चुनौती बढ्दै, न्यूज ब्रेकिङ भन्दा पनि मुद्धामा केन्द्रीत हुनुपर्ने सरोकारवालाको भनाइ

by समतल अनलाइन

भैरहवा । टेलिभिजन पत्रकारितामा थप चुनौती बढ्दै गएकोले वर्तमान अवस्थामा न्यूज ब्रेकिङ भन्दा पनि मुद्धामा केन्द्रीत हुनुपर्ने बताइएको छ ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीद्वारा आयोजित तीन दिने लुम्बिनी न्यूज फेस्टिबल अन्तर्गत मंगलबार भएको संघीयतामा टेलिभिजन विषयक छलफलमा सहभागि वक्ताहरुले टेलिभिजन पत्रकारितालाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्यालले अबको टेलिभिजन पत्रकारितामा अब मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए । उनले टेलिभिजन भन्दा छापा माध्यम अगाडी बढ्दै गएको बताउँदै टेलिभिजनलाई नयाँ ढंगलेसञ्चालन गर्नुपर्ने बताए । “यो माध्यममा झन् चुनौती थपिदै गएको छ, त्यसैले यसलाई जोगाउन नयाँ शिराबाट अगाडी बढ्नुको विकल्प छैन, उनले भने ।”

सगरमाथा टेलिभिजनका सम्पादक गणेशमान गुरुङले टेलिभिजनमा काम गर्नेलाई राम्रो समाचार लेखेर नभइ राम्रो खिच्नुपर्ने भएकोले अरु सञ्चारमाध्यम भन्दा यसमा बढी मिहिनेत गर्नुपर्ने बताए ।

एबीसि टेलिभिजन प्रदेश ५ व्युरो प्रमुख शरण कर्माचार्यले टेलिभिजनमा ग्रामीण क्षेत्रका नागरिकको अनुहार देखाउनुपर्ने बताए । उनले पत्रपत्रिका भन्दा टेलिभिजनमा काम गर्नु थप चुनौती भए पनि पारिश्रमिक एउटै भएको बताए ।

लुम्बिनी सामुदायिक टेलिभिजनका महासचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले केन्द्रका मिडियाले स्थानीय मुद्दालाई प्राथमिकता दिन नसकेको बताए । उनले काठमाण्डौ बाहिर टेलिभिजन स्थापना गरेर संघीयताको अभ्यास सुरु भएको बताए । कार्यक्रमको सहजीकरण जनता टेलिभिजनका समाचार प्रमुख रामकुमार एलनले गरेका थिए ।

 
 
  
 

You may also like