बुटवलमा भोजपुरी गीति एलबम बिमोचन तथा चर्चा परिचर्चा

by समतल अनलाइन

बुटवल। पश्चिम नवलपरासीका साहित्य सर्जक तथा समाजसेवी प्रेमचन्द्र गुप्ताको गीति एल्बम पशुपति के जात्रा सिद्रा के ब्यापार बुटवलमा सार्वजनिक गरिएको छ । मधेशका समस्याबारे चिन्तक तथा सुधारक र अभियन्ता समेत रहेका गुप्ताद्वारा सिर्जना गरिएका ५ वटा गीतहरुको संगालो सो एल्बमको बिमोचनसहित चर्चा परिचर्चा कार्यक्रम पनि भएको छ । सो कार्यक्रममा बोल्ने बक्ताहरूले गीति एलबमले मधेशका जनताको समस्या, चाहना र पीडा गीतमार्फत अभिब्यक्त भएको बताउँदै मधेशमा भएको बिकृति र विसंगति उजागर गर्नै प्रयास भएको बताए । कार्यक्रमका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सभापति नारायण शर्माले मधेशका जनताको पीडा गीतमार्फत सार्वजनिक भएको बताउँदै आगामी दिनमा पनि समाजमा रहेका यस्तै समस्या उजागर गर्न सर्जक गुप्तालाई सुझाव दिएका छन् ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेश अध्यक्ष नवराज कुँवरले गीति एल्बममार्फत मधेशका जनताले बर्षौदेखि भोगिरहेको पीडा र उत्पीडन सार्वजनिक
भएको बताए । अध्यक्ष कुँवरले यसप्रकारका गीत र एल्बमले मधेशका जनतामा जागरण बढाउन गर्न सहयोग पुग्ने बताउँदै सर्जक गुप्ताको थप सिर्जनाको लागि शुभकामना दिए । गीतका रचनाकार प्रेमचन्द्र गुप्ताले लोकगीतको माध्यमबाट मशेशको समाजको विद्यमान अवस्थाको चित्रण गर्ने प्रयास गरिएको बताए । एल्बममा पाँचवटा गीत समावेश गरिएका छन ।

गीति एल्बममा आशा राव र रूश्मिला गौतमको आवाज रहेको छ । एल्बममाथि टिप्पणी गर्दै पत्रकार सुमन अधिकारी र लोकगायक लक्ष्मण खडकाले एल्बम तयार गर्न सर्जकले गरेको मेहनतको प्रशंसा गर्दै कला संस्कृतिको माध्यमबाट विकृति बिसंगति बाहिर ल्याउने गरि आगामी दिनमा अझै राम्रो एल्बम बनाउनु पर्ने कुरामा जोड दिए । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशका सचिव माधव नेपालको संचालनमा भएको कार्यक्रमको अध्यक्षता बरिष्ठपत्रकार विष्णु भुसालले गरेका थिए ।

 
 
  
 

You may also like