बुटवल। बुटवल उपमहानगरपालिका–१० रामनगरमा अवस्थित कालिका क्याम्पसले मङ्गलबारदेखि ११औं वार्षिकोत्सव तथा अभिभावक दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाउने भएको छ। त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त यस सामुदायिक क्याम्पसले बीसीए, बीबीए, बीएड, बीए, र स्नातकोत्तर तह (एमए आरडी) मा उत्कृष्ट नतिजा हासिल गर्दै छोटो समयमा प्रगति गरेको दाबी प्राचार्य घनश्याम पाठकले गरेका छन्।
२०७० सालमा स्थापना भएको यस क्याम्पसमा हाल ३,९३६ विद्यार्थी अध्ययनरत छन् भने अघिल्लो शैक्षिक वर्षमा १,२१५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै थप प्रविधि भित्र्याउने योजना क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले बताए।
मङ्सिर २४ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रममा वृहत सरसफाइ, भलिबल, रिले दौड, कबड्डी, डोरी तान्ने, टेबल टेनिस, नृत्य, बेलुन फुक्ने, हाजिरीजवाफजस्ता प्रतियोगिता आयोजना हुनेछ। त्यस्तै, शिक्षक-कर्यालय कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता र निःशुल्क आँखा तथा दन्त परीक्षणजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गरिनेछ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले गर्नेछन् भने समापन समारोहमा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले सम्बोधन गर्नेछन्। क्याम्पसले गुणस्तर सुनिश्चिता प्रत्यायन (QAA) प्राप्त गर्ने अन्तिम चरणमा रहेको जानकारीसमेत दिएको छ।
यस वार्षिकोत्सवले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको सिर्जनात्मकता र प्रतिस्पर्धात्मक क्षमताको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।