बुटवल। बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान कार्य सुरु भएको छ। बिहीबार कालिकानगरस्थित कालिका चोकमा नगर प्रमुख खेलराज पाण्डेयले योजनाको शिलान्यास गरे।
नगर प्रमुखले बुटवललाई स्वच्छ, सुरक्षित, र हरियाली शहरका रूपमा विकास गर्न २३ वटा हाईमास्ड लाइट, सिसिटिभि, र ट्राफिक लाइट जडान कार्य अघि बढाइएको जानकारी गराए।
पहिलो चरणमा कालिका चोक, मिलन चोक, र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गरिनेछ। यो कार्य ५५ लाख रुपैयाँ लागतमा क्युसेरा मल्टीपर्पोज प्रालिले सम्पन्न गर्नेछ। निर्माण कम्पनीले १५ दिनमै काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ।
प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले ट्राफिक लाइटले दुर्घटना न्यूनीकरणमा योगदान दिने र ट्राफिक व्यवस्थापन प्रभावकारी हुने बताए।
साथै, उपमहानगरपालिकाले बसपार्क क्षेत्रका चार वडामा १२५ सिसिटिभि क्यामेरा जडान गर्न करिब ५२ लाख खर्च गरिरहेको छ।
सडक सुरक्षा सुधार र स्मार्ट व्यवस्थापनतर्फ बुटवलले अर्को कदम चालेको छ।