सैनामैना कृषि शाखाद्धारा अनुदानमा ५७ क्विन्टल गहुँ वितरण

by समतल अनलाइन

सैनामैना । सैनामैना नगरपालिका कृषि बिकास शाखाको आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत शाखाले आज गहुँको बीउ वितरण गरेको छ । शाखाले ५० प्रतिशत अनुदानमा सैनामैना नगरमा भएका ११ वटै वडाका १७ वटा कृषक समुहलाई विभिन्न जातका बीउ वितरण गरिएको नगर कृषि बिकास शाखाले जनाएको छ ।
११ वटा वडाका करिब ४ सय २५ कृषहरुलाई बीउ वितरण गरिएको हो । उनीहरुलाई एनएल २९७,गौतम, वाणगंगा र बिजय जातको ५७ क्विन्टल उन्नत बीउ वितरण गरिएको कृषि बिकास शाखाका प्रमुख सिर्जना खनालले जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा बिउको माग बढी भएको तर बजेट कम भएको हुँदा धेरै किसानहरु फिर्ता फर्कनुपरेको बताउनुभयो

सो अवसरमा गँहुको बीउ वितरण गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बिउको माग धेरै भएको तर गुनासोमा न्युनिकरण भएको बताउनुभयो ।

उहाँले उत्पादित गँहु ग्रेडिङ गरेर बीउकै रुपमा वितरण गर्ने गरी कृषक सक्रिय हुनुपर्ने बताउँदै निर्वाहमुखी खेती नभई सामुहिक र एकीकृत खेती गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरले कृषका लागि विभिन्न अनुदान सँगै विभिन्न आधुनिक यान्त्रिकरण समेत वितरण गरेको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुुख अतिथी समेत रहनुभएका कार्कीले आगामी दिनमा नगरले कृषि क्षेत्रमा बजेट अझ बढी उपलब्ध गराई प्रोत्साहनका कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँ नगर कृषक मुल समितीका अध्यक्ष शेर बहादुर क्षेत्रीले वितरण गरिएको बीउले निरन्तर ३ वर्ष सम्म उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले अर्को वर्ष अन्य कृषकहरुलाई बीउ वितरण गरिने लक्ष्य बनाएको उल्लेख गर्नुभयो ।

गहुँको बीउ प्राप्त गरेपछि किसानहरु खुसी हुँदै सामुहिक किसानका लागि मात्र नभई व्यक्तिगत किसानका लागि पनि बिउ वितरण गर्नुपर्नेमा जोड दिएका थिए । नगरले यस अघि तोरीको बीउ, आलुको बीउ, प्याजको बीउ वितरण गर्नुका साथै किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोग समेत गर्ने गरेको कृषि शाखाले जनाएको छ ।
सैनामैना ४ कृषि कार्यालयमा भएको बउि वितरण कार्यक्रम गाउँ नगर कृषक मुल समिती अध्यक्ष शेर बहादुर क्षेत्रीको अध्यक्षता, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्य देवी कार्कीको आतिथ्यतामा भएको हो । कार्यक्रमको संचालन कृषि शाखाका कर्मचारी कोपिला आचार्यले गर्नुभएको थियो ।

 

 
 
  
 

You may also like