एभरेष्टमा उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल। बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा कम्प्युटरसम्बन्धी सामूहिक प्रस्तुतीकरण कार्यक्रम तथा युवा उद्यमी र उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी दुई छुट्टाछुट्टै कार्यक्रमहरु सम्पन्न भएका छन् ।

व्यवस्थापन समूहअन्तर्गत कक्षा १२ को कम्प्युटर विषयका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको प्रस्तुतीकरण कार्यक्रममा विद्यार्थीहरुलाई ९ ओटा समूहमा विभाजन गरी प्रत्येक समूहबाट १–१ ओटा प्रस्तुतीकरण दिइएको विद्यालयका आइटी प्रशिक्षक पूजन ज्ञवालीले जानकारी दिनुभयो । कम्प्युटर विषय शिक्षक राजिव बेलवासेले सहजीकरण गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुले सैद्वान्तिक रुपमा प्राप्त गरेको ज्ञानलाई प्रयोगात्मक कम्प्युटर प्रयोगशालामा करिव ३ घण्टासम्म प्रस्तुतीकरण गरेका थिए । यसैगरी व्यवस्थापन समूहकै वित्तशास्त्रमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको युवा उद्यमी र उद्यमशीलता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा वित्तशास्त्रमा अध्ययनरत ५२ जना छात्रछात्राको सहभागिता रहेको थियो ।

 

युवा उद्यमी तथा सफल व्यवसायी सुरेन्द्र खनाल प्रमुख वक्ताको रुपमा रहेको उक्त कार्यक्रम उपप्राचार्य उमेश रेग्मीको सभापतित्व तथा प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका वित्तशास्त्र शिक्षक निशानबाबु कार्कीले गर्नुभएको थियो ।

यसैबीच एभरेष्टमा शुक्रबार अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउँदै उनीहरुमा तार्किकतायुक्त वाककलाको विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा कक्षा ४ देखि १० सम्म जम्मा ३६ जना छात्रछात्राको सहभागिता रहेको थियो ।

विद्यालयका सह प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमको सभापतित्व र प्राचार्य न्यौपानेको आतिथ्यमा भएको प्रतियोगितामा शिक्षकद्वय माधव प्रसाद पौडेल र लक्ष्मी कार्कीले निर्णायकको जिम्मेवारी वहन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १० का छात्रद्वय उत्सव भट्टराई र श्रृजल वस्यालले गरेका थिए ।

यसैगरी शुक्रबारनै कक्षा ४ देखि १० सम्मका अन्तरसदनात्क चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको विद्यालयले जनाएको छ ।

 
 
  
 

You may also like