बुटवल उपमहानगरपालिकाले मोतिपुरमा थारु संग्रहालय बनाउँदै

१९ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाले थारु समुदायको संस्कृति झल्किने संग्रहालय बनाउने भएको छ ।

उपमहानगरले मोतिपुरको सौरहीया नजिकैको नदी उकास जग्गामा रहेको करिब पाँच बिगाहा क्षेत्रफलमा गुरुयोजना बनाएर जग्गामा यस्तो संग्रहालय बनाउने तयारी गरिरहेको प्रमुख शिवराज सुवेदीले बताए ।

अहिले संग्रहालयका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भइरहेको छ । थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख सुवेदीले बताए ।

संग्रहालयमा थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोसाक, गहना र परम्परागत सामग्रीहरु राखिने छ । रुपन्देहीको धेरै थारु समुदाय रहेको क्षेत्रका रुपमा मोतिपुरलाई पनि लिइन्छ ।

डीपीआर बनाइरहेको परामर्शदाता कम्पनी रिप्पल ट्रेनिङ एण्ड कन्सल्टेन्ट सर्भिसेस प्रालि काठमाण्डौंका प्राविधिक र बुटवल उपमहानगरपालिकाका प्राविधिकलाई लिएर मोतिपुरमा पुगेका प्रमुख, उपप्रमुखसहितको टोलीले समुदायको सुझाव संकलन गरेको छ ।

डीपीआरको पहिलो चरणको काम सकेर मस्यौदासहित प्रस्तावित स्थलमै पुगेर समुदायको सुझाव संकलन गरिएको र महत्वपूर्ण सुझावहरुले संग्रहालयको डीपीआरलाई अन्तिम रुप दिन सहयोग पुग्ने प्रमुख सुवेदीले बताए ।

थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजाउने, थारू गाउँको झल्को दिने परम्परागत घरहरु बनाइने, कोठा र देउता राख्ने ठाउँ पनि तयार पारिने छ । थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरेर त्यहाँ राखिने उपप्रमुख गुमादेवी आचार्यले बताए ।

संग्रहालयमा बडघर, इनार, डिउहार, बगैंचा, माछा पोखरी, कृषिका परम्परागत उपकरण, सांस्कृतिक झल्को दिने प्रदर्शनी कक्षसमेत राख्नेगरी डिजाइन बनाउन प्राविधिकलाई सुझाव दिइएको उपप्रमुख आचार्यले बताए ।

प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, सहरी पूर्वाधार विकास महाशा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठ, इन्जिनियर रुक्मागत अर्याल, परामर्शदाता कम्पनीका वास्तुविद् तथा शहरी योजनाकार मधुसुधन बराल र इन्जिनियर आयुष भण्डारीलगायतले संग्रहालयका बारेमा समुदायको सुझाव लिएका थिए ।
सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइने र संग्रहालयको लागत समेत अनुमान गरिने भएको छ ।

स्थानीयहरु वडाअध्यक्ष हुमराज आचार्य, खुमराज ढकाल, गोविन्द चौधरी, बोमबहादुर थारु, आशिष थारु, गोलेप्रसाद चौधरी, सतिषकुमार चौधरी, पत्रकार नरेशकुमार चौधरी, लक्ष्मी थारु, गोपाल नेपाल, कुमारप्रसाद थारुलगायतले संग्रहालयले समग्र थारु जातिको संस्कृति र महत्वलाई झल्काउनुपर्नेमा जोड दिएका थिए ।

पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण हुन नसकेको अवस्थामा बुटवलले उदाहरणीय कामको थालनी गरेको थारू समुदायका अगुवाहरुले प्रतिक्रिया दिएका छन् ।

 
 
  
 

You may also like