प्रदेश ५ राजधानी बुटवलमै हुन्छ – विष्णु पौडेल

by समतल अनलाइन

‘सिद्धबाबामा सुरुङमार्ग निर्माणको काम केही दिनमा सुरु हुन्छ’

बुटवल । पूर्व अर्थमन्त्री,नेकपाका महासचिव तथा प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानी बुटवलमै हुने दाबी गरेका छन् । ‘प्रदेश ५ को राजधानी हल्काफूल्का ढङ्गले राखिएको होइन ।’ –उनले अघि भने ‘बुटवलमा रहेको प्रदेशको राजधानी अब स्थायी नै हो भनेर बुझ्दा पनि हुन्छ ।’ प्रदेशको नामाकरणको विषयमा प्रदेश सभाले गठन गरेको आयोगले छिट्टै टुङ्गो लगाउने विश्वास व्यक्त गर्दै उनले नामाकरणमा समेत कुनै विवाद सिर्जना नहुने उल्लेख गरे ।

त्यसैगरी उनले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा चासो र चिन्ताको विषयममा रहेको सिद्धबाबामा केही हप्ता दिनमा सुरुङमार्ग निर्माणका लागि टेन्डर प्रक्रिया सुरु हुने बताए । बुधबार नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमामा आयोजना गरेको चुनावी प्रतिबद्धता खुल्ला समिक्षामा बोल्दै उनले १ दशमलव ३ किलोमिटरको सुरुङ मार्ग सहित ३ दशमलव ३ किलो मिटरको बाटो निर्माणका लागि डिपिआर तयार भएको जानकारी गराए । स्विटजरल्याण्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो सुरुङमार्ग नेपालको दोस्रो सुरुङ मार्गका रुपमा रहने उनले बताए ।

यस क्षेत्रका जनताको चासो रहेको काली गण्डकी तिनाउ डाइभशर्नको डिपिआर यसै आर्थिक वर्षको अन्त्य सम्ममा तयार भइसक्ने बताउँदै नेता पौडेलले सबैलाई विश्वासमा लिएर काम गर्ने बताउँदै कसैले पनि अबरोध नगर्ने विश्वास व्यक्त गरे । प्रतिनिधी सभाको २ वर्ष अगाडी भएको निर्वाचनमा गरेका प्रतिवद्धताहरुलाई सम्झँदै उनले रुपन्देहीलाई भौतिक पूर्वाधारको विकासमा देशकै नमूना जिल्ला बनाउने प्रतिबद्धतालाई दोहोर्याए ।

अर्को फरक प्रसङ्गमा नेता पौडेलले नेपाल सरकार तथा चीनसँगको सम्बन्धलाई सम्मानजनक र सुमधुर बनाउन प्रतिबद्ध भएको उल्लेख गर्दै उनले सिमा विवादलाई समाधान गर्न सरकार सफल हुने उल्लेख गरे । कालापानी, लिपुलेग तथा लिम्पियाधुरा नेपालकै भएको कुरा इतिहासले साबित गरेको तथा १९५० को सन्धिले समेत उल्लेख गरेको बताउँदै उनले अतिक्रमित जग्गा नेपालकै हो भन्ने कुरा स्थापित गराएरै छाड्ने प्रतिबद्धता जनाए । ‘सरकार राजनीतिक तथा कुटनीतिक रुपले सिमा समस्या समाधानमा लागेको छ ।’–उनले अघि भने ‘नेपालको एक इन्च जग्गा पनि हाीले छोड्नेवाला छैनौं । हामी कुनै पनि हालतमा राष्ट्रघाती सम्झौता गर्ने पक्षमा छैनौं ।’ नेपाल अब नाकाबन्दीको कालोमा समेत नपर्ने भन्दै उनले चीनसँगको सम्बन्धले मुलुक भू–परिबेष्ठित नभई भू–जडित राष्ट्र भएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, प्रयटन वन तथा वातावरण मन्त्री लिला गिरीले रुपन्देहीको विकासले अब फड्को मार्ने दाबी गरे । चुनावी प्रतिबद्धता खुल्ला समिक्षामा सहभागी तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरले नगरलाई ग्रीन सिटीको रुपमा विकास गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याए । नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा जनवादी गायक जीवन शर्माको विशेष प्रस्तुती रहेको थियो ।

 
 
  
 

You may also like