दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा युएई ३ विकेटले पराजित , सातौं स्थानका लागि आयरल्यान्डसँग भिड्ने

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ। आइतबार भएको खेलमा युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पार गर्‍यो।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। ऐरीले नटआउट ७९ रन जोड्ने क्रममा ८५ बलमा ७ चौका र २ छक्का हिर्काए। सन्दीप लामिछानेले ३७ बलमा नटआउट २३ रन जोडे।

त्यसअघि ओपनर कुशल भुर्तेलले ९९ बल खेल्दा ३५ रन जोड्न सके। अर्जुन साउद, भीम सार्की र आरिफ शेख १-१ रनमा आउट भएका थिए। ज्ञानेन्द्र मल्लले १३ रन जोडे भने गुल्सन झा १२ रनमा आउट भए।

बलिङमा युएईका मोहमद जुवादुल्लाहले ३ विकेट लिए।जिम्बावेको ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएई ४६.५ ओभरमा १८१ रनमै अलआउट भयो।

युएईका लागि कप्तानको भूमीकामा रहेका वृत्य अरविन्दले ४४ रन जोडे। यस्तै रोहान मुस्ताफाले ३५ रन र बासिल हमीदले २९ रनको योगदान गरे।

बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दा २३ रन खर्चिए। करणले ८.५ ओभरमा ३६ रन दिए। प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

यसअघि सातौं स्थानको अर्को प्लेअफमा अमेरिका र आयरल्यान्डबीच खेल भएको थियो। खेलमा आयरल्यान्ड ६ विकेटले विजयी भएको थियो।आज जित हात पारेसँगे नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र आयरल्यान्डबीच मंगलबार प्रतिस्पर्धा हुनेछ।

 
 
  
 

You may also like