आईसीसी विश्वकप छनोट प्लेअफ : आज नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको प्लेअफमा आज (आइतबार) नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा हुनेछ । विश्वकप छनोटमा नेपाल समूह ‘ए’ को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता पनि खोल्न सकेको थिएन । सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएईबीच सातौँ स्थानको लागि खेल हुन लागेको हो ।

नेपाल र युएईबीच अहिलेसम्म १४ वटा एक दिवसीय खेल भएकोमा नेपाल ८ खेलमा र यूएई ६ खेलमा विजयी भएका छन् । १० टोली सहभागी विश्वकप छनोटमा अमेरिका पुछार र आयरल्याण्ड आठौँ स्थानमा रहे । आजै विश्वकप छनोटको सुपर सिक्समा श्रीलंका र जिम्बावेले खेल्दैछन् । खेल दिउँसो पौने १ बजे हुनेछन् ।

हिजो स्कटल्याण्डसँग पराजित भएर वेष्ट इन्डिज बाहिरिएसँगै शीर्ष स्थानको श्रीलंका र दोस्रो स्थानको जिम्बावेले विश्वकप खेल्ने सम्भावना उच्च छ । तेस्रो स्थानको स्कटल्याण्ड्को पनि गणितीय सम्भावना कायमै छ । एक दिवसीय विश्वकपको इतिहासमा वेस्ट इन्डिज पहिलो पटक विश्वकपमा छनोट हुन नसकेको हो । वेष्ट इन्डिज दुई पटकको एक दिवसीय र टी–२० विश्व विजेता पनि हो ।

 
 
  
 

You may also like