सौर्यको जहाज दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा देखियो यस्ता कारण

by समतल अनलाइन

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको अध्ययन गर्न गठित जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना तौलको सन्तुलन (लोड ब्यालेन्स) नमिलेको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउण्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पाइएको छ । यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनु पर्छ ।

सौर्यसँग त्यस्तो म्यानुअल भए पनि त्यसको पालना नभएको देखिएको छ । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा औंल्याइएको छ । जहाज उडेको २० सेकेण्डमै दाहिनेतर्फ कोल्टिँदै भुइँमा बजारिएको थियो । धेरै यात्रुको सोही क्रममा ज्यान गएको समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाको १ मिनेट ४० सेकेण्डमा दमकल घटनास्थल पुगेको समेत प्रतिवेदनले देखाएको छ ।

मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधी राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्ना साथ सामान सरेर सन्तुलन बिग्रिएको प्रतिवेदनको प्रारम्भिक निष्कर्ष छ । जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा जनाइएको छ । ब्यागेजसहित १८, १३२ किलो तौलसहित जहाजले टेकअफ गरेको थियो । जसमा थप २००० किलो इन्धन थियो ।

‘टेकअफ वेट’ लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको निष्कर्ष अध्ययनको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ । समितिले प्रारम्भिक रूपमा पाँच वटा विषय अनुसन्धानका लागि तय गरेको थियो । जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय पहिचान गरेको छ । प्रतिवेदनमा उडानअघि जहाज ३४ दिनसम्म ग्राउण्डेड गरिएको उल्लेख छ ।

सम्पूर्ण मर्मत अर्थात् ‘सी–चेक’ का लागि साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १८ जनाको ज्यान गएको थियो । जसमा सौर्य एयरलाइन्सका प्राविधिक तथा कर्मचारी, एक बालक र तीन जना चालक दलका सदस्य गरेर १९ जना सवार थिए । दुर्घटनामा परेका पाइलटको घाइते अवस्थामा उद्धार गरिएको थियो । उनी उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटना अध्ययनका लागि सरकारले रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको समितिले जनाएको छ । अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like