सुनिता बिलियम्सलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्कियो स्टारलाइनर

by समतल अनलाइन

काठमाडौं । बोइङको स्टारलाइनर अन्तरिक्ष यान न्यू मेक्सिकोको मरुभूमिमा स्थानीय समय अनुसार शुक्रबार अवेर राति अवतरण गरेको छ । यान तोकिएको समय भन्दा महिनौं ढिलाइ गरी पृथ्वी फर्किएको हो । जुनको सुरुमा प्रक्षेपण हुँदा साथमा रहेका दुई अन्तरिक्ष यात्रीहरूसँगै फर्किने गरी पठाइएको थियो । स्टारलाइनर पृथ्वीमा कुनै समस्या बिना फर्किएको नासाको प्रत्यक्ष प्रसारणमा देखिएको थियो । जसले यसको मिसनको अन्तिम महत्वपूर्ण चरणलाई सफलतापूर्वक सम्पन्न गर्‍ यो ।

अन्तरिक्ष यानले स्थानीय समय अनुसार शुक्रबार राति ११ बजे लगभग २७,४०० किमी प्रति घण्टा (१७,०२५ माइल प्रति घण्टा) को कक्षीय गतिको साथ पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । लगभग ४५ मिनेटपछि, यसले आफ्नो अवतरणको गतिलाई धीमा बनाउन केही प्यारासुटहरू प्रयोग गरेको थियो र अवतरण हुनु अघि हावा भरिएका एयरब्यागहरू फुलाएको थियो, त्यसपछि यो न्यु म्याक्सिको सुक्खा मरुभूमि ‘ह्वाइट स्यान्ड्स स्पेस हार्बर’ मा अवतरण गर्‍यो ।

जुनमा नै नासाका अन्तरिक्ष यात्रीहरू सुनिता (सुनी) विलियम्स र बटच विलमोरले स्टारलाइनरबाट पृथ्वीमा फर्किनु पर्ने थियो तर प्रक्षेपण भएको एक हप्तापछि हिलियम चुहावटका कारण उनीहरूको यात्रामा अवरोध सिर्जना भयो । यसका कारण उनीहरु अब करिब बर्ष दिन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा (आईएसएस) बस्ने छन् र फेब्रुअरीमा स्पेसएक्स ड्रयागन अन्तरिक्ष यानमा फर्किने छन् ।

नासाले अन्ततः विलियम्स र विलमोरलाई स्टारलाइनरबाट फर्काउनु जोखिमपूर्ण ठानेका कारण उनीहरु अन्तरिक्षमै रोकिए । बोइङले २०१९ मा मानव रहित पहिलो परीक्षण उडानमा पनि धेरै समस्याहरू सामना गर्नु परेको थियो । २०२२ मा दोहोर्‍याइएको परीक्षणले पनि थप त्रुटिहरू फेला पारेको थियो जसको मर्मत खर्च १.५ अर्ब डलर भन्दा बढी भयो । स्टारलाइनरले अन्ततः ५ जुनमा फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट सफलतापूर्वक अन्तरिक्षमा उडान गर्‍यो, तर त्यसअघि ६ मे र १ जुनका असफल प्रक्षेपणहरू भएका थिए । एजेन्सी

 
 
  
 

You may also like