बसले ठक्कर दिँदा नाति र हजुरआमाको गयो ज्यान

by समतल अनलाइन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी मावलपट्टीकी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन् । घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । प्रहरीले ठक्कर दिने सवारीसाधन नियन्त्रणमा लिनुको साथै चालकलाई पक्राउ गरेको छ ।

 
 
  
 

You may also like