ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार थप तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिकाका बहालवाला छैठौं तहका अधिकृत शिवजी भट्टराईसहित नक्कली मोही बाबुराजा महर्जन र घमनकुमार कार्की रहेका छन् । महर्जन नक्कली मोही, भट्टाराई २०६० सालमा कमनापा–४ का तत्कालिन वडासचिव ( हाल महानगरका अधिकृत) र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।

कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए । त्यसकै आधारमा १४ रोपनी भन्दा बढी जग्गा नक्कली मोही र अरु व्यक्तिका नाममा गएको थियो ।

यही प्रकरणमा प्रहरीले केही दिनअघि सात जनालाई पक्राउ गरेको थियो । जसमा तीन जना पक्राउ परेकै दिन अदालतको स्टेअर्डरको सहायतामा रिहा भएका थिए । डिल्लीबजारका मालपोत प्रमुख कलाधर देउजा र दुई अधिकृतहरू हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली अदालतको आदेशले पक्राउ लगत्तै छुटेका थिए । भाटभटेनीका मालिक मिनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त सुधिरकुमार साहसहित तीन जना प्रहरीको हिरासतमा छन् ।

 
 
  
 

You may also like