जिन्दगीलाई माया गरौँ, फिर्तामा कुनै दिन जिन्दगीले पनि माया गर्छ

by समतल अनलाइन

बुढापाकाले भन्ने गर्छन् । दुखमा नआत्तिनु, सुखमा नमात्तिनु । अहिलेका पुस्ताले यो कुरा बुझ्दैनन् । र, दुख पाउछन् । यो भनाईमा गहिराई छ । गाम्भिर्यता लुकेको छ । भनिन्छ, बुढापाकाहरुले भविष्य देखेका हुन्छन् र बोलीमा भविष्य ओकल्छन् । तर अहिलेका पुस्ताले यो भनाइबारे भेउ नै पाउदैन । बुढापाकाहरुले आफ्नो अनुभवका आधारमा जिन्दगीका धेरै गुथीहरु सुल्झाएका हुन्छन् । उनीहरुले जिन्दगीलाई कसरी बिताउँनु पर्ने हो भन्ने केहि हदसम्म जानिसकेका हुन्छन् ।

हुन त, उनीहरुका पनि गुनासाहरु हुन्छन् । त्यसो त, सबै मान्छेका जिन्दगीसँग गुनासोहरु धेरै हुन्छन् । सबैका जिन्दगीमा आरोह अवरोहहरु निक्कै हुन्छन् । जिन्दगीमा यो भएन वा त्यो भएन भनेर गुनासो गर्नेहरु धेरै छौ । तर म सबै कुराले सम्पुर्ण भए भन्ने मान्छे पाइदैन । म सुखी छु भन्ने मान्छे पाइदैन । अति सम्पन्न मान्छेलाई पनि यो कुराको ख्याल हुदैन । अझ सम्पन्न हुने लोभमा कुदीरहन्छ । जिन्दगीको अन्त्यसम्म दौडिरहन्छ । मान्छे सम्पन्नताको पछिपछि दौडिरहन्छ । सम्पन्नतालाई खेदाइरहन्छ । जुनदिन मान्छेले सम्पन्नता भेट्छ तब जिन्दगीको अन्त्यको आइसक्छ । अर्थात् मान्छे सुख बोकेरै पनि सुखको पछि पछि दौडिरहेको छ ।

वास्तवमा, यस्ता गुनासाहरु हामीले जिन्दगीको महत्वलाई अवमुल्यन गरेका कारणले नै हुने हो । जिन्दगी अमूल्य छ भन्ने माने मात्रै पनि जिन्दगीका साना तिना अफ्ठ्याराहरुले तनाव दिन बन्द गर्छन् । हामीलाई स्वस्थ र राम्रो जिन्दगी रहुञ्जेल जिन्दगीको महत्व बुझ्न गाह्रो हुन्छ । हामी जिन्दगीलाई नै यसै पाइने कुराका रुपमा लिने गर्छौँ तर जिन्दगी सँधै त्यस्तो रहदैन ।

जिन्दगी महत्वपुर्ण छ तर अस्थायी छ ।

खुशी मनाऔं । गुनासो केही नराखौ । आफू यो संसारमा भएकोमा गर्व गरौ । केही घटना घटे, म त सकिए, मेरो भन्नु पनि केही छैन भन्दै चिच्याएर पनि समस्या सुल्झिदैन, बरु झन कच्पटिन्छ । त्यस्तै जीवनसँग असन्तुष्टिहरु त धेरै होलान् तर पनि म जिबित छु भन्ने कुरामा सन्तुष्ट हुन सक्नुपर्छ । जिबित हुनु भन्दा ठुलो धन यो संसारमा के होला ? भन्नुस त !

आफुसँग जे छ त्यसैमा रमाउन सक्नुपर्छ । हामीसँग जे छैन, त्यो खोज्छौ तब आफैलाई दुख तर्फ डोहोर्याउछौ । असन्तोषी प्राणी भएरै पनि होला, हामीमा भोक व्याप्त छ । लोभ असंख्य छ ।

हामी लोकको पछि लाग्छौ । छिमेकीको पछि लाग्छौ । अरुसँग आफ्नो जीवनशैली दाज्छौ । उनीहरुकै बराबरी वा उनीहरुको भन्दा बढि पाए खुशी हुन्छौ । सन्तुष्ट बन्छौ । तर आफूलाई तल्लो स्तरमा पाए दुखी बन्छौ । यही कारणले त दुखी बन्छौ कि हामी सधै माथिल्ला स्तरकालाई हेर्छौ । तल्लो स्तरकालाई हेरेर बस्दैनौ ।

मैले जीवनमा दुइथरीका मान्छे देखेको छु । एक जो आत्महत्या गर्न चाहन्छ । दुई, कसैगरि पनि बाच्न चाहन्छ । मर्न चाहने जस्ले जीन्दगीको अस्तित्व सकियो भन्ने बुझेको छ । उसले जिन्दगीको अन्तिम विन्दु नै यही हो भन्ने बुझेको छ । अर्थात सम्पुर्ण रुपले हारिसकेको छ ।

अर्काै थरी, जो बाच्न चाहन्छ, उकाली ओराली आउछन्, जान्छन् भन्ने बुझेको छ । उ जिवन भन्दा अरु केही सोच्दैन । लाग्छ, उ र जीवन पर्याय हुन् ।

जिन्दगीको सार बुझ्नेले जीवनका मोड तथा आरोह र अवरोहसँग कहिल्यै डग्मगाउदैन । सङधर्ष मानेर जुधिरहन्छ । लडिरहन्छ । त्यस्ता मान्छेले जिन्दगीको महत्व बुझेको हुन्छ । हामीले जिन्दगीलाई गाह्रो मान्यौ, गाह्रो नै बन्यो । सहज मान्यौ, सहज नै बन्छ । अर्थात, जसरी बुझ्छौ त्यस्तेै छ जिन्दगी ।

गित नै छ नि ।

फुलको आँखामा फूलै संसार ।

काँडाको आँखामा काँडै संसार ।।

योसँग सम्बन्धित एउटा सुन्दर कथा छ

एक सुन्दर गाउँमा एउटा मुर्ख मानिस बस्थ्यो । उ कसैसँग बोल्दैनथ्यो । बोल्नै परे पनि काम बेगार बोल्दैनथ्यो ।

एकदिन उसको साथीले जङगलमा खरायो पाइन्छ भनेर जंगल जान भनेर बोलायो । उ समय अधि नै बोलाएको ठाउँमा पुग्यो । तर त्यहाँ कोही थिएन । एकछिन पर्खियो । तर पनि कोही आएन ।

कोही नआएको देखेर उसलाई रिस उठ्यो । ठुलो आवाजमा तथानाम गाली गर्यो । प्रतिध्वनीत भएर उसको आवाज उही तर्फ आयो । प्रतिध्वनी भएर आएको आफ्नै आवाज सुनेर उसलाई कसैले जिस्काएको जस्तो लाग्यो । उ झन् मुर्मुरियो ।

त्यसपछि रिसाएर उ फटाफट घर पुगेर खुकुरी खोज्न थाल्यो । दाईको रिस र हस्याङफस्याङ देखेर भाई छक्क पर्यो । भाईले उसलाई सोध्यो कि, उसले के गर्न खोजिरहेको छ । उसले आफुसँग भएको सबै घटना आफ्नो भाईलाई बेलिबिस्तार लगायो ।

भाइले सबै कुरा बुझ्यो र भन्यो, “केही बोक्न पर्दैन । तँ र म नै त्यहाँ जाउँ ।”

उसले हुन्छको संकेत गर्दै टाउको हल्लायो । दुवैजना जङगलमा अघिकै स्थानमा पुगे ।

भाईले भन्यो, “मेरो साथी भन् त ।” उसले ठुलो स्वरमा ‘मेरो साथी’ भन्यो । उताबाट त्यस्तै मिठो स्वर आयो । उसलाई पनि कसैले मेरो साथी भन्यो । उ पनि खुशी भयो । अन्त्यमा केही गुनासो नगरी फर्कियो ।

वास्तवमा कथाले भन्न खोजेको कुरा के हो भने जीवन भनेको त्यहि प्रतिध्वनी जस्तो हो । हामीले होस गुमाएर तथानाम गर्न थाल्यौँ भने तथानाम नै फर्किन्छ । र, हामीले जस्तो सुकै अवस्थामा पनि सप्रेम पुर्कायौँ भने त्यस्तै हामीलाई प्राप्त हुन्छ ।

वास्तवमा जिन्दगी कस्तो बनाउँने भन्ने धेरै हदसम्म हाम्रो हातमा हुन्छ । यसैले जिन्दगी आफैलाई वरदान मानौँ । जिन्दगीलाई राम्रो बनाउँन अर्को वरदान वा चमत्कारको आवश्यकता छैन । यसलाई सदुपयोग गरौं । जिन्दगीमा आएका जे जस्ता अवस्थालाई पनि स्विकारौँ । जसरी खुसी सँधै रहदैन, त्यसरी नै दुख पनि सँधै रहदैन । त्यसलाई पनि स्विकार्नुमा महानता हुन्छ ।

जिन्दगीलाई माया गरौँ, फिर्तामा कुनै दिन जिन्दगीले पनि माया गर्छ । आफ्ना कारणले अरुलाई नदुखाउ । आफू जस्तो छौ, त्यस्तै छ हामी वरिपरिको परिबेश पनि ।

 
 
  
 

You may also like