युरोपभरका स्याङ्जालीहरु पोर्चुगलमा भेला हुदै

लिस्बन। स्याङ्जा सहयोग समाजको प्रथम युरोप क्षेत्रीय भेला पोर्चुगलमा हुने भएको छ । समाजको युरोप क्षेत्रीय भेला यही मे ७ तारिखका दिन पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको हो ।

युरोपका बिभिन्न मुलुकमा रहेका स्याङ्जालीहरुलाई संगठीत र गोलबन्दीत गर्ने तथा स्याङ्जालीहरुका बिचमा सामूहिक भेटघाट, आपसी सद्भाव, सहयोग र अन्तरसम्बन्धमा थप अभिबृद्धि गर्ने उद्धेश्यले युरोप भेलाको आयोजना गरिएको स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्यालले जानकारी दिनुभयो । भेला सम्पन्न गर्नका लागि समाजले बिभिन्न उपसमिति गठन गरेर तयारीमा जुटेको अर्यालले बताउनुभयो ।

दुई दिन सम्म चल्ने भेलामा अन्र्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी सहित स्पेन, फ्रान्स, पोर्चुगल, जर्मनी, बेल्जियम, डेनमार्क, नर्वे, नेदरल्याण्ड, बेलायत लगायतका मुलुकका राष्ट्रिय समन्वय समितिका ५० जना प्रतिनिधिको सहभागीता रहने समाजले जनाएको छ ।

भेलाले “मानवसेवामा स्याङ्जावासीको सोच, एक करोड अक्षयकोष” भन्ने मूल नाराका साथ स्थापना गर्न लागेको अक्षयकोषका लागि आर्थिक सहयोग सँकलन समेत गर्ने बताईएको छ । साथै प्रवासी स्याङ्जालीहरुको सामूहिक लगानी मार्फत् स्याङ्जामा रोजगारमूलक र आयमूलक कार्यक्रम सञ्चालनका लागि बिशेष योजना र कार्यक्रम तय गर्ने समाजले जनाएको छ ।

कार्यक्रममा स्थानीय तथा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ । कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा पोर्चुगलबासी स्याङ्जालीहरुलाई समाजले बिशेष आग्रह समेत गरेको छ ।

 
 
  
 

You may also like