विनाशकारी आँधीका कारण अमेरिकामा संकटकाल घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिएको संकटकाल घोषणालाई अनुमोदन गरेका छन् ।

उनले यससँगै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी र चक्रवात’ बाट प्रभावित क्षेत्रमा पुनःस्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन् । राज्य सरकारले यसअघि संकटकाल घोषणा गरेको थियो । मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहन सक्ने बताएको छ ।

‘मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ । अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकाले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ’, विज्ञप्तिमा लेखिएको छ । विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै चक्रवातको सम्भावनालाई नकार्न नसकिने जनाएको छ ।

मिसिसिपी र अल्बामा भीषण आँधीबाट २६ जनाले ज्यान गुमाएका छन् । सयौं घाइते भएका छन् । खोज तथा उद्धार प्रयास जारी छ । रोलिङफार्क अति प्रभावित भएको छ । कुच्चिएका मोटरकार, इँटा र सिसाले सडक हेरिनसक्नु छ । पूरै सहर प्रायः भग्नावशेषमा परिणत भएको छ ।

यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन् । पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ । सबैतिर तहस–नहस, वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ ।

 
 
  
 

You may also like