रुपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब १ रनले विजयी

भैरहवा।बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को बिहीबारको खेलमा विजयी भएको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबलाई १ रनले पराजित गर्दै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलको टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ४७ ओभरको खेलमा ४४.२ ओभरमा सबै विकेटको नोक्सानीमा २ सय ४ रनको योगफल बनायो । उसका लागि अनलिकुमार साहले अर्धशतकको पारी खेले । उनले ६६ रन जोड्दा अनिल खरेल र सन्देश थापाले २२–२२, बिष्णु पाण्डेले २०, सुशान्त अर्यालले १४ र भुवन पाण्डेले ११ रन बनाए ।

बलिङमा जेआरका संदीप सुनारले ४, विनय जिसीले २ तथा पुरन विक, किर्जन गुरुङ, सागर गिरी र खड्क बोहराले समान १–१ विकेट बनाए ।

जवाफी ब्याटिङ गरेको जेआर ४७ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३ रनमा रोकियो र १ रनले पराजित हुन पुग्यो । उसका लागि खग्क बोहराले ५३, संदीप सुनारले ४५, पुरन विकले ३७, जगत क्षेत्रीले १८ र रोजन कुमालले १७ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा वेष्टर्नका अभिषेक गौतम, बिष्णु पाण्डे र अनिलकुमार साहले समान २–२ तथा सन्देश थापा र अनिल खरेलले १–१ विकेट लिए । वेष्टर्नका अनिलकुमार साह म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

 
 
  
 

You may also like