इरानसँग हारको बदला लिने लक्ष्यमा नेपाल

काठमाडौं । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज (मंगलबार) हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपरान्ह ३ बजे भारत र श्रीलंकाबीच हुँदैछ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपरान्ह ५ः १५ बजेदेखि शुरु हुनेछ । यसअघि समूह चरणको खेलमा भारत १० अंकसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौंथो हुँदै सेमिफाइनल खेल्दैछ । त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो । लिगमा व्यहोरेको हारको बदला लिने लक्ष्यसहित नेपाल आज सेमिफाइनलमा इरानविरुद्ध चुनौती प्रस्तुत गर्दैछ ।

सोमबार माल्दिभ्समाथि सोझो सेटमा जित निकालेपछि नेपालले सेमिफाइनलमा इरानलाई प्रतिद्वन्द्वी पाएको हो । जितसँगै नेपालले लिगमा व्यहोरेको हारको बदला समेत लिने अवसर पाएको छ । लिगमा इरानसँग ३–२ ले पराजित हुँदा शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।

नेपालका प्रशिक्षक जगदीश भट्टले लिगमा भएको कमी कमजोरी सुधार गर्दै सेमिफाइनलमा इरानविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताए । ‘लिगमा इरानविरुद्ध केही गल्ती पनि भए । अब सेमिफाइनलमा ती गल्ती सुधार गर्छौं,’ प्रशिक्षक भट्टले भने, ‘इरानलाई हराउँदै हामी उपाधि यात्रा होमिनेछौं ।’

 
 
  
 

You may also like