नेपालले पीएनजीलाई ५२ रनले हरायो, विश्वकपमा छानिन तीन खेल जित्नु पर्ने

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले पराजित गरेको छ ।

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७ ओभर १ बलमा २४५ रन बनाउँदा अलआउट भयो । पीएनजीका लागि टोनी उराले ५०, आसाद भालाले ४२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले १ सय १० रन बनाए । यस्तै कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रन बनाए । बलिङतर्फ सेमो कमियाले ५ र रिले हिकुरेले ३ विकेट लिए ।

यस जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन÷जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पीएनजी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २-२ खेल खेल्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलाको अर्काे खेलमा नेपालले आइतवार यूएईसँग खेल्ने छ ।

अङ्क तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित पाँचौं स्थानमा छ । पीएनजी उति नै खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ । यूएई ३२ खेलमा ३१ अङ्कसहित छैटौँ स्थानमा छ । लिग–२ का शीर्ष तीन टोलीले सोझै विश्व कप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अङ्कका साथ विजेता बन्दै र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका छन् ।

 
 
  
 

You may also like