एसीसी प्रिमियर कप आजदेखि : उपाधि दाबेदार नेपालले मलेसियाको सामना गर्दै

काठमाडौँ । आज (शुक्रबार) देखि एसीसी प्रिमियर कपको सुरुवात हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन् ।

एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एशोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, यूएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।

प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समूह ’बी’ मा बहराइन, यूएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ भने दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराहन्न ४ः १५ बजेदखि सुरु हुने छन् ।

समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन् ।

 
 
  
 

You may also like