ड्रिम युनिक रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरीको लगातार दोस्रो जित

भैरहवा।लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । डिभिजन ‘ए’ अन्तर्गत मंगलबारको खेलमा न्यु होराइजन क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै लुम्बिनी खुकुरी दोस्रो जित दर्ज गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ४ बलमा १ सय ६५ रन जोड्दा अलआउट भयो । उसका लागि अमर मिश्राले उत्कृष्ट ब्याटिङ गर्दै ६० रन बनाए पनि टिमले जित निकाल्न सकेन् । यस्तै, प्रदी साहनीले २८, महेश भरले १९, निश्चल ज्ञवालीले १७ र राहुल भण्डारीले १३ रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लुम्बिनी खुकुरीका शाहब आलमले ३, सन्तोष यादव र अजयकुमार चौहानले २–२ तथा दुर्गेश गुप्ता र शंकर रानाले १–१ विकेट लिए ।

१ सय ६६ रनको लक्ष्यसहित ब्याटिङ गरेको लुम्बिनी खुकुरीले ३९ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा अन्तिम थापाले अविजित २५ रनको योगदान दिँदा प्रज्वल थापाले २४, सन्तोष यादवले २२, शाहब आलमले १७, सेहाज आलम र निश्चल चौधरीले समान १४–१४ तथा संदीप रजालीले १३ रनको योगदान दिए । बलिङमा न्यु होराइजनका प्रिन्स पालले ३, विप्रसन केसी र अमर मिश्राले २–२ तथा निर्मल गुरुङले १ विकेट लिए । खेलमा लुम्बिनी खुकुरीका शाहब आलम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

 
 
  
 

You may also like