एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज (बुधबार) नेपाल र साउदी अरेबियाबीच खेल हुँदैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११ः ४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ‘ए’ मा ६ अंकसहित समूह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।

त्यस्तै साउदी अरेबियाले भने यसअघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्‍याउन सक्छ ।

त्यस्तै आजै सोही समयमा हङकङ र मलेसिया पनि खेल्दैछन् । हाल मलेसिया ३ खेलमा २ अंकसहित चौथो र हङकङ पनि ३ खेलमा २ अंकसहित चौथो स्थानमा रहेका छन् । यस खेलमा जित हासिल गर्ने देशले नेपाल र साउदी अरेबियाबीचको नतिजाको आधारमा मात्र सेमिफाइनलमा पुग्ने नपुग्ने निश्चित हुनेछ ।

 
 
  
 

You may also like