राष्ट्रपति निर्वाचन अपडेट : ४२१ मत खस्यो, मतदान जारी

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा आज अपरान्ह १२ बजेसम्म ४२१ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म संघतर्फ २०२ र प्रदेशसभातर्फ २१९ गरी कूल ४२१ मत खसेको हो ।

बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । मतदानमा संघीय संसद्तर्फ प्रतिनिधिसभाका २७२,राष्ट्रियसभाका ५९ र सातै प्रदेशसभाका ५५० गरी कूल ८८१ मतदाताले सहभागी हुँदैछन् ।

संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । विसं २०६२-६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन् । पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।

 
 
  
 

You may also like