ग्रीक रेल दुर्घटना : मृत्तकको संख्या ३६ पुग्यो, तीन दिने राष्ट्रिय शोक घोषणा

एथेन्स । मध्य ग्रीसमा मंगलबार राति दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । उक्त घटनामा घाइते भएका अन्य ६६ जना अस्पतालमा भर्ना भएका छन् ।

अग्नि नियन्त्रक सेवाका प्रवक्ता भासिलियोस वाथ्राकोगियानिसले पत्रकार सम्मेलनमा विशेष युनिटसहित १५० भन्दा बढी अग्नि नियन्त्रकहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्यमा भाग लिइरहेको जानकारी दिए ।

टेम्पी नगरपालिकामा मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेलको पहिलो तीन भागमा प्रयास केन्द्रित गरिएको उनले बताए । ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो । हेलेनिक ट्रेन रेल अपरेटरलाई उद्धृत गर्दै राष्ट्रिय प्रशारणकर्ता ईआरटीले जनाएअनुसार उक्त यात्रुवाहक रेलमा ३४६ जना यात्रु सवार थिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीस प्रहरीले जनाएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा सरकारका प्रवक्ता जियानिस ओइकोनोमोउले बताए । बुधबारदेखि शुक्रबारसम्म सबै सार्वजनिक भवनमा झण्डा आधा झुकाइने र सबै सार्वजनिक उत्सवहरू स्थगित हुने उनले बताए । सिन्ह्वा

 
 
  
 

You may also like