टर्की भूकम्प : १३२ घण्टापछि सात वर्षीया बालिकाको जीवितै उद्धार, मृत्तकको संख्या २८ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । टर्की र सिरिया सीमा क्षेत्रमा भूकम्प गएको १३२ घण्टापछि एक सात वर्षकी बालिकाको जीवितै उद्धार गरिएको छ । हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प गएको लामो समय र अत्यधिक चिसोका कारण मानिसहरु जीवित भेटिने आशा सकिँदै जाँदा केही चमत्कारिक उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्प गएको एक सय घण्टापछि जीवितै उद्धार हुनेको संख्या कम्तीमा १० जना पुगेको जनाइएको छ । यस्तै सोमबार टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ । टर्कीमा २४ हजार ६ सय १७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरी २८ हजार १ सय ९२ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

यसैबीच भूकम्प प्रभावित टर्कीमा सेनाले लुटपाटको आरोपमा कम्तीमा ५० जनालाई पक्राउ गरेको छ भने केही बन्दुक बरामद गरेको बीबीसीले जनाएको छ । यसअघि नचिनेका समूहबीच झडप हुँदा उद्धार कार्य प्रभावित भएको थियो । एजेन्सी

 
 
  
 

You may also like