जग्गा कहिले वारि, कहिले पारि

by समतल अनलाइन

दाङ । गढवा गाउँपालिका–६ महदेवाका ७० वर्षीय मोतीलाल चौधरीले जग्गा खोजीमै जीवन बिताए । जग्गा ठेगान हुँदैन । कहिले कता पुग्छ, कहिले कता । राप्ती किनारमा पर्ने उनको जग्गा कहिले नदीपारि पुग्छ, कहिले वारि पर्छ । कहिलेकाहीँ बीचमा हुन्छ । राप्तीले बाटो फेर्दा कहिलेकाहीँ जग्गाको निसाना नै मेटिन्छ ।

केही वर्षयता नदीपारि राप्ती गाउँपालिका–७ छोड्की सिसहनियातिर उनको जग्गा पुगेको छ । त्यहाँ रहेको ५ कट्ठा खेतमा उनी खेती गरिरहेका छन् । त्यहाँ पुग्न राप्ती नदी पार गर्नुपर्छ । ‘डुंगा चढेर खेती गर्न जाने र बर्खामा भेल आयो भने त्यतै बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘खेती भित्र्याउँदा त्यस्तै समस्या हुन्छ । नदीकै वरिपरि घुम्दै समय बित्छ । जग्गा भेटिएन भने मानाचामल जुटाउनै गाह्रो हुन्छ ।’

आजको कान्तिपुरमा खबर छ–अहिले महदेवा र सिसहिनया जोड्ने ८ सय ६० मिटर लामो पुल निर्माणको अन्तिम चरणमा पुगेकाले आवतजावतमा सहज हुने आशा पलाएको छ । तैपनि कहिल्यै जग्गाको टुंगो लाग्दैन । ‘जीवनभर नदीले दु:ख दियो । आफ्नो जग्गा पनि उपभोग गर्न पाइँदैन,’ उनले भने, ‘नदीले जग्गाको रूपरेखा बिगारिदिन्छ । कहिले बालुवा मात्रै हुन्छ, कहिले पानी बगिरहेको हुन्छ । कहिले कता पर्‍यो, थाहै हुँदैन ।’ तटबन्ध लगाएर नदीलाई एउटै बाटो हिँडाउन सके जग्गा सुरक्षित हुने उनको आशा छ । महदेवाकै ४९ वर्षीय बहिदार चौधरीको खेत पहिले नदीवारि थियो । बिस्तारै नदी आफ्नो गाउँतिर सर्दै आयो, खेती पारितिर रह्यो । उनको खेत पनि राप्ती गाउँपालिकामा परेको छ । उनी पनि नदी पार गरेर खेती गर्न जान्छन् । ‘आफ्नो घरतिर भएको खेत अहिले नदीको अर्कोतिर परेको छ । खेतीपाती गर्न नदीपारि पुग्नुपर्छ,’ उनले भने, ‘कहिले खेतै भेटिन्न । नदी कताकता पुग्छ, थाहै हुन्न । दुनियाँलाई अरू चिन्ता होला, हामीलाई नदी कता जान्छ भन्ने पिरलो हुन्छ ।’ महदेवा गाउँका मात्र १५ घरपरिवारको खेत नदीपारि परेको छ ।

कतिको जमिनमा लामो समयसम्म पनि नदी बगिरहन्छ । गढवा ३ रतनपुरका ४७ वर्षीय रामदिन चौधरीको खेत अहिले नदीमा पर्छ । रतनपुरको एक सय बिघाभन्दा बढी जमिनमा नदी बगिरहेको उनले बताए । ‘पहिले खेती गरिरहेको जमिन अहिले छैन । त्यहाँ नदी हिँडिरहेको छ । हरेक वर्ष जग्गा खोज्न ठिक्क हुन्छ,’ उनले भने, ‘अहिले त नदी अर्कोतिर जान्छ कि भन्यो, फेरि यतै आउँछ । नदी आएपछि हेर्दाहेर्दै जग्गा बगर बनिदिन्छ । जग्गाको राजस्व तिरेका छौं । तर जोत्न पाएका छैनौं ।’

नदीले बगर बनाएको जमिनमा कतै बालुवा मात्रै छ त कतै घाँस उम्रिएको छ । यसले खेतीपातीमा निर्भर राप्ती आसपासका किसानलाई कठिन बनाएको छ । कतिपयले बगरमै खेती गरिरहेका छन् । कहिलेकाहीँ बाढी आएर लगाएको बाली सबै बगाइदिन्छ । केही वर्षअघि नदी किनारको घुस्रा गाउँमा नदी पसेपछि गाउँ नै विस्थापित थियो । अहिले उक्त गाउँ गढवामा पुगेर घुस्रा गाउँकै रूपमा परिचित छ । उनीहरूको पहिलेको गाउँ बगर बनेको छ । जनताको तटबन्ध कार्यालय लमहीले राप्तीमा तटबन्ध लगाउने र खेतीयोग्य जमिन उकास्ने काम गरिरहेको प्रमुख रवीन्द्रबहादुर थापाले जानकारी दिए । नदीमा हरेक २५ वर्षमा ठूलो बाढी आउने र यसले ८ हजार ४२ हेक्टर जमिनमा क्षति पुर्‍याउने आकलन रहेको उनको भनाइ छ । ‘बर्सेनि माटो र रूख बगाएर थुपार्दा पनि नदीले धार परिवर्तन गरिरहेको हुन्छ,’ उनले भने, ‘यसले किसानको जग्गामा क्षति पुर्‍याइरहेको हुन्छ ।’

राप्ती नदीको फैलावट पहाडतिर तीन सय मिटरदेखि तराईमा १ हजार ७ सय मिटरसम्म रहेको उनले बताए । तराईमा बढी फैलावट भएका कारण मानिसहरूको खेतमा पनि नदी बग्ने गरेको थापाले बताए । अहिले तटबन्ध गरेर दाङमा ७२ र बाँकेमा ८० गरी १ सय ५२ हेक्टर खेतीयोग्य जमिन निकालेको उनले जानकारी दिए । ‘उकास भएको जग्गामा अहिले राम्रो खेतीपाती भइरहेको छ । बाँकी जमिन पनि निकाल्ने काम भइरहेको छ,’ उनले भने, ‘जग्गा उकास्नुका साथै बाढी, डुबानबाट बचाउने काम पनि गर्नुपर्छ । ठूलो क्षेत्रफल भएकाले सबैतिर एकसाथ जमिन बचाउन कठिन हुन्छ ।’ अहिले राप्ती नदीको कटानबाट ११ हजार ३ सय ८० घरपरिवारका ७७ हजार ४ सय २७ जनसंख्या प्रभावित भएको थापाले बताए ।

 
 
  
 

You may also like