किएभ क्षेत्रमा रुसी आक्रमणलाई असफल पारेको युक्रेनको दाबी

by समतल अनलाइन

किएभ । युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
रुसले हिजो विष्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको आक्रमणलाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूको दाबी छ । रुसी आक्रमणलाई विफल पारे पनि ड्रोनका केही भग्नावशेषबाट पाँचवटा भवनमा क्षति पुगेको तर कुनै मानवीय क्षति नभएको युक्रेनले जनाएको छ ।

रुसले युक्रेनका पूर्व र दक्षिणी भागमा रहेका विद्युत् प्रसारण केन्द्रलगायत भौतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १३ वटा ड्रोनहरू प्रहार भएको र ती सबैलाई रोकिएको बताएको समाचार संस्था एपीले जनाएको छ ।

किएभका प्रमुख प्रशासक सेर्ही पोप्कोले दुई चरणमा भएको रुसी आक्रमणलाई असफल पारेको तर ड्रोनका भग्नावशेषले एउटा प्रशासनिक भवन र चार वटा आवासीय भवनमा क्षति भएको जानकारी दिएका छन् ।

 
 
  
 

You may also like