बुटवल उपमहानगरले कर्मचारीको इन्धन र मोबाइल खर्च कटौती गर्ने

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आइतबार बसेको छ । नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गरेको छ । जसअनुसार मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघ भित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने तालिका स्वीकृत भएको नगर प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।

स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ ।

क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरुको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।

नगरक्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

बैठकले नगरको खर्चमा मितव्ययिता अपनाउनका लागि कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको छ ।

बैठकले बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिनुभयो।

 
 
  
 

You may also like